नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण, तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन

अनिल क्षेत्री
Read Time = 20 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ४४ औँ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल, तीनजना उपप्रधानमन्त्री र चारजना मन्त्रीलाई शपथग्रहण गराउनुभएको छ । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्नुभएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका पौडेललाई अर्थ मन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठलाई भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहनुभएको छ । त्यस्तै, जनमत पार्टीका उपाध्यक्षसमेत रहनुभएका अब्दुल खानले पनि मन्त्रीको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूको कार्यभार पछि तोकिने बताइएको छ । सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । सोमबार नै प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्का तीनजना उपप्रधानमन्त्रीसहित सातजना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार साँझ बसेको छ । प्रधानमन्त्रीको शपथग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो तेस्रो कार्यकाल हो । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित सात राजनीतिक दलका १६६ र तीनजना स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६, नागरिक उन्मुक्ति पार्टीका चार र जसपाका १२ सांसद छन् । यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन रहेको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो ।

एमालेको तर्फबाट विष्णु पौडेलको नेतृत्व
नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाएको छ । एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधारसमेत रहनुभएका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । पौडेल यसअघि पनि दुईपटक अर्थमन्त्री बनिसक्नु भएको छ । योसहित पौडेल छैटौँपटक मन्त्री बन्नुभएको छ । त्यस्तै, एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिनुभएको छ । एमालेबाट सोमबार मन्त्रीको शपथ लिएकाहरू प्रत्यक्ष निर्वाचित भएका प्रतिनिधिसभा सदस्य हुन् ।

उपप्रधान र गृह मन्त्रालयसहित रास्वपा सरकारमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जानुभएको छ । प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा गएको हो । सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गर्नुभएका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न सफल हुनुभएको छ । सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै लामिछानेले गठन गरेको रास्वपाले आमनिर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल हुनुभएको हो ।

जनमतलाई उद्योग मन्त्रालयको जिम्मेवारी
जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको छ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित सहभागी हुनुभएको हो । यसअघि, अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताउनुभएको थियो । अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । ३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो । जनमत पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच सिटमा जित हात पारेको थियो ।

प्रचण्डद्वारा पहिलोपटक राष्ट्रिय पोसाकमा शपथग्रहण
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्रीको रुपमा तेस्रोपटक शपथ लिँदा प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाउनुभएको हो । प्रचण्ड २०६५ र ०७३ सालमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसबेला उहाँले कोट पाइन्ट लगाएर शपथ लिनुभएको थियो । पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सभा समारोहमा जाँदा पनि उहाँ कोट, पाइन्टमै जाने गर्नुभएको थियो । उहाँनिकट स्रोतका अनुसार प्रचण्डले यसअघि सार्वजनिक समारोहमा दौरा सुरुवाल लगाउनुभएको छैन ।

दौरा सुरुवाल सिलाउन आइतबारै शरीरको नापो लिएर पठाइएको थियो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उहाँको दौरा सुरुवाल सिलाउन दिइएको थियो । यसअघि राजनीतिक कारणले नै आफूले दौरा नलगाएको उहाँको तर्क हुने गथ्र्यो । सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ‘सामन्ती पोसाक’ भन्ने गर्थे ।

शपथ समारोहमा नेकपा एमालेका विष्णु पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको शपथ लिँदा दौरा सुरुवालमा नै देखिनुभएको थियो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री पदको शपथ लिँदा दौरा सुरुवालमा नै सझिनुभएको थियो । अर्का उपप्रधानमन्त्री माओवादीका नारायणकाजी श्रेष्ठले पनि दौरा सुरुवालमा नै शपथ लिनुभयो । शपथग्रहण गर्न गएका प्रायः सबैले खरानी रंगको कोट र सेतो दौरा सुरुवाल लगाएका थिए ।

शपथग्रहण नसकिँदै देउवा शीतलनिवासबाट बाहिर
नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथग्रहण कार्यक्रम नसकिँदै बाहिरिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले शपथ लिइसकेलगत्तै देउवा बधाई दिएर शपथग्रहण समारोहबाट बाहिरिनुभएको हो । देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ बाँकी नै थियो । त्यसैले देउवाले उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन भने भ्याउनुभएन । देउवाले पहिलो कार्यकालमा आफैँ प्रधानमन्त्री हुने अडान नछाडेपछि प्रचण्ड कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।

निर्वाचनमा मतदानको प्रकृतिलाई मन्त्रिपरिषद्ले समेटेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जनताले दिएको जनमतलाई मन्त्रिपरिषद्ले समेटेको बताउनुभएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनको जनादेशलाई मन्त्रिपरिषद्ले समेटेको बताउनुभयो । पक्कै पनि थुप्रै जटिलता र चुनौतीहरु छन्’ उहाँले भन्नुभयो, ‘तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ, गएको निर्वाचनमा मतदानको जस्तो प्रकृति देखियो त्यसलाई समेटेको छ, यो मन्त्रिपरिषदले ।’ साथै, उहाँले जनतालाई सुशासन दिने विषयमा मन्त्रिपरिषदले प्राथमिकता दिने बताउनुभयो । राहदानी, लाइसेन्स बनाउन लाग्ने लामो लामो लाइनको छिट्टै अन्त्य गर्ने पनि उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । सोमबार मात्रै तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको हो ।

देशको अर्थतन्त्र बिग्रनुको कारण खोज्छु, सुधार गर्नेछु : अर्थमन्त्री पौडेल
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र बिग्रनुको कारण खोज्ने र सुधार गर्ने बताउनुभएको छ । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उहाँले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिएर समस्या समाधानमा लाग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, समाधान गर्नेछु, चिन्तित भएको अर्थ जगत्लाई आश्वस्त बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’

उहाँले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने पनि बताउनुभयो । अर्थमन्त्री पौडेलले पूर्वाग्रहमा विश्वास नराखी अर्थतन्त्रको सुधारमा काम गर्ने बताउनुभयो । ‘म अघिल्ला दुवै कार्यकालमा जुन चुनौतीको घेरामा थिएँ, ती सामना गर्दै सफल कार्यकाल बिताएको थिएँ । त्यसले आत्मविश्वास बलियो बनाएको सम्झना छ,’ उहाँले भन्नुभयो, ‘यसपटकका समस्या अझ गम्भीर छन् । मुलुकको समस्या काबुबाहिर छैन भन्ने विश्वास लिएर आएको छु ।’

तेस्रो कार्यकालमा सफल हुन सक्छु वा सक्दिनँ भन्ने प्रश्न छ रहेको भन्दै उहाँले भन्नुभयो ‘म लिबरल थिएँ, म सबैप्रति उच्च सम्मान गर्छु, कार्यसम्पादनमा सहजीकरण गर्छु,’ उहाँले भन्नुभयो, ‘सबैबाट परिभाषित जिम्मेवारी पूरा गर्ने क्रममा किन्तु परन्तु नगर्नुहोला । अर्थले आफ्नो सामथ्र्य कायम गर्न नसके राष्ट्रको सामाथ्र्य कमजोर हुन्छ, हामीलाई गल्ती गर्ने छुट छैन ।’

उहाँले सुशासनप्रति आफ्नो गहिरो चासो रहेको भन्दै त्यसको विपक्षमा आफू सहिष्णु नहुने चेतावनी दिँदै भन्नुभयो, ‘मन्त्रालयका काम र सबैका कामप्रति आलोचना विरोध, निन्दा सुन्न नपरोस्, आम नागरिकले प्रशंसा गर्ने गरी कार्यसम्पादन गरौँ ।’

अर्थमन्त्री पौडेलले सबै विभागका सेवा डिजिटलाइज्ड गर्ने निर्णय गर्नुभएको छ । अर्थ मन्त्रालय अन्तर्गतका सबै सेवा अनलाइनबाट गर्न सकिने व्यवस्था मिलाउने विषयलाई उहाँले आफ्नो पहिलो निर्णयका रूपमा उल्लेख गरी हस्ताक्षर गर्नुभएको छ । पौडेललाई अर्थ मन्त्रालयमा कर्मचारीहरूले भव्य स्वागत गरेका थिए ।

अब भ्रष्टाचारको अन्त्य हुन्छ : मन्त्री श्रेष्ठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गरेर समृद्धिमा अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यसअघि भएका कमी कमजोरीहरूलाई सच्याउँदै मुलुकमा सुशासन कायम गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताउनुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न सके मात्रै भ्रष्टाचारको अन्त्य हुने धारणा राख्नुभयो । जनताले संविधान नियम र कानुनअनुसार हुने काम भनसुन र घुस नखुवाई हुने अवस्था सिर्जना गर्नुपर्ने पनि भनाइ व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले उपप्रधानमन्त्री बन्न मात्रै सरकारमा नआएको भन्दै काम गर्न आएको स्पष्ट पार्नुभयो । ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए÷सकिए भनेर बुझ्दा हुन्छ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न विधेयकलाई अन्तिम रूप दिनका लागि कार्यदल गठन गर्ने सम्बन्धमा निर्णय गर्नुभएको थियो ।

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्छु : लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको छ । सोमबार शपथग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएका मन्त्री लामिछानेले यही नै गृहमन्त्रीको रूपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिनुभएको हो । पदभार ग्रहण कार्यक्रममा मन्त्री लामिछानेलाई नागरिकता आरोपबारे सोधिएको प्रश्नमा न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने जिकिर गर्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै सम्झौता नगर्ने दाबी गर्नुभयो ।

उहाँले आफू एजेण्डासहित सरकारमा आएको र ती एजेण्डा केही दिनमा सार्वजनिक गर्ने जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृहमन्त्री लामिछानेले आफूले क्याबिनेटभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबी गर्दै भन्नुभयो, ‘सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृह मन्त्रालयका बारेमा गुनासो आएको थियो । गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो । स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक काम कारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?