बैतडीका सात पालिकाले बजेट विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट गरेनन्

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका तीन स्थानीय तहले मात्रै बजेट प्रविष्ट गरेका छन् । आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि गाउँ तथा नगर सभामा पेस भएको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट विवरण पोर्टलमा तीन पालिकाले मात्रै प्रविष्ट गरेका हुन् ।

जिल्लाको सिगास गाउँपालिका, पाटन र दशरथचन्द नगरपालिकाले मात्रै बजेट सभामा पेश भएको बजेटलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट विवरण पोर्टलमा प्रविष्ट गरेको जनाइएको छ । यि पालिकाहरुले असार १० गते नै मन्त्रालयको बजेट विवरण पोर्टलमा प्रविष्ट गरेका हुन् ।

बजेट प्रविष्ट नगर्नेमा पुर्चाैडी, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सुर्नया र पञ्चेश्वर गाउँपालिका रहेका छन् । बजेट पारीत हुन बाँकी भएकाले विवरण पोर्टलमा प्रविष्ट गर्न नसकिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । बजेट माथी आवश्यक छलफल जारी नै रहेकाले असार ३० गते भित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट विवरण पोर्टलमा प्रविष्ट गर्ने गरी काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार पालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्यय कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

पालिकाले असार १० गतेभित्र आ–आफ्नो सभामा आउँदो वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही पालिकाले तोकिएको मितिमा सभामा बजेट नै पेस गर्न सकेका छैनन्।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?