संविधानको मर्म र भावना नमिच्न प्रथम राष्ट्रपतिको आग्रह

हिटा प्रधानसम्पादक प्रा. दाहाललाई एक लाख रुपैयाँ नगदसहित सम्मान

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विचार स्वतन्त्रता, लोकतन्त्र, शान्ति र मानव अधिकारका लागि वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालसहित तीनजना सञ्चाकर्मीहरू र दुईजना भाषासाहित्यसेवी पुरस्कृत तथा सम्मानित हुनुभएको छ । तेजतीर्थ ट्रष्टले बिपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले उहाँहरूलाई नगद तथा सम्मान पत्र प्रदान गर्नुभएको हो ।

समारोहमा बोल्दै डा. यादवले वर्तमान परिवर्तन अत्यन्त कठिन संघर्षको परिणाम भएको हुनाले यसलाई जोगाउन संविधानको मर्म र भावनाअनुसार सबै राजनीतिक दलहरू, सरकार र न्यायपालिका सबैको जिम्मेदारी रहेको स्पष्ट गर्नुभयो । उहाँले बिपी कोइरालाको राजनीतिक विचार, योगदान र तत्कालीन अवस्थाको विश्लेषण गर्दै प्रश्न गर्दै भन्नुभयो, ‘वर्तमान प्रणाली र संविधान असफल भएमा के हुनसक्छ ? गम्भीर हुनु आवश्यक छ ।’

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानले लोकतन्त्रको मूल्यलाई आत्मसात गर्न नसकेमा फेरि हामीले प्रतिकूल अवस्थाको सामना गर्नुपर्ने खतरा हुनसक्नेतर्फ संकेत गर्नुभयो । उहाँले तेजतीर्थ ट्रष्टको स्थापना गरी तीर्थराम डंगोल र तेजकुमारीले आफूसँग भएको श्रीसम्पत्तिको सही सदुपयोग गरी आफ्नो नामलाई अमर गराउने बाटोमा लागेकोमा प्रशंसा गर्नुभयो ।

ट्रष्टका संस्थापक पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता तीर्थराम डंगालले ट्रष्टको परिचय दिँदै सञ्चार क्षेत्रमा कार्यरत नयाँ पुराना पत्रकारहरू, विचार स्वतन्त्रता, मानव अधिकार, शान्ति र लोकतन्त्रका लागि योगदान दिनुहुने एकजना र नेवारी भाषाको सेवामा सतत् क्रियाशील दुई जनालाई ट्रष्टले प्रत्येक वर्ष पुरस्कृत र सम्मानित गर्ने बताउनुहुँदै ट्रष्टले योगदानको संस्कृति विकास गर्न खोजेको जानकारी दिनुभयो ।

विचार स्वातन्त्रता, शान्ति, मानव अधिकार र लोकतन्त्रका लागि करिब पाँच दशक योगदान गरेकोमा सम्मानित प्रा.दाहालले बिपी कोइरालाले बसाउन खोज्नुभएको लोकतान्त्रिक संस्कृतिको चर्चा गर्दै यतिखेर परिवर्तन भए पनि सत्ताको छायामा संस्कृति निर्धो हुन लागेको विचार प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानितमध्ये वरिष्ठ लेखक भाषासेवी काशीनाथ तमोट र वरिष्ठ पत्रकार कवीर राणा एवं ट्रष्टका तर्फबाट गौरीप्रसाद दवाडीले पनि मन्तव्य प्रकट गर्नुभएको थियो ।

प्रथम राष्ट्रपति डा. यादवले हिमालय टाइम्स दैनिकका प्रधानसम्पादक प्रा.दाहाललाई विचार स्वतन्त्रता, लोकतन्त्र, शान्ति र मानव अधिकारका लागि एकलाख नगद र प्रमाणपत्र, वरिष्ठ पत्रकार कवीर राणा र युवा पत्रकार राधिका वुढाथोकी तथा नेवारी भाषा साहित्यसेवी काशीनाथ तमोट लेखिका प्रकाश प्रधानाङ्गलाई जनही पचास हजार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । राणा देशान्तर साप्ताहिकका सम्पादक हुनुहुन्छ भने करिब चार दशकदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्छ । सिन्धुलीमा रहेर पत्रकारितामा सक्रिय बुढाथोकी स्थानीय रेडियोकर्मी तथा हिमालय टाइम्सकर्मीसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?