✍️ कृष्ण भुसाल
नेपालीहरू वैदेशिक रोजगारीमा कहिलेदेखि जान थाले भन्ने यकिन नभए पनि विभिन्न काम र अवसरको खोजीमा छिमेकी राज्यहरूमा जाने गरेका थिए र पछि भारतमा रोजगारीमा जाने गरेको इतिहास पाइन्छ । भारतमा ब्रिटिश साम्राज्यको समयमा नेपालीहरू लुकिछिपी ब्रिटिश आर्मीमा गएको पाइन्छ । वीरशमशेर सत्तामा आएपछि विसं १९४२ मा ब्रिटिशसँग सम्झौता भएपछि नेपाली युवाहरू आधिकारिक रूपमा ब्रिटिश गोर्खा भर्तीमा जान थालेको इतिहासमा पढ्न पाइन्छ ।
नेपालीहरू भारतबाहेकका मुलुकमा रोजगारीका निम्ति जान थालेको केही दशकमात्र भएको छ । अहिले वैदेशिक रोजागार भन्नेबित्तिकै भारतबाहेकको देश भन्ने आमबुझाइ बनिसकेको छ । पछिल्ला तीन दशकमा नेपालीहरू एसियाका खाडी मुलुकहरू जसमा साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमन, इराक, इजरायल तथा दक्षिणपूर्वी मुलुक मलेसियामा रोजगारीका निम्ति गएका छन् । अन्य युरोपियन देश, अष्ट्रेलिया, जापान, कोरिया, क्यानाडा, अमेरिका, डेनमार्क, जर्मनलगायत देशहरूमा विभिन्न माध्यमबाट नेपाली युवाहरू पुगेका छन् । एक तथ्यांक अनुसार अहिले ११२ भन्दा बढी देशमा नेपालीहरू रोजगारीको अवसर खोजीमा पुगेका छन् । अहिले फेसन जस्तै बनेको वैदेशिक रोजगारीभित्रका यथार्थ भने अलि फरक छन् ।
देशको राजनीतिक र आर्थिक अवस्थाका कारण विदेश जानेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । भएका उद्योगधन्दा पनि बन्द र चालु अवस्थाका पनि येनकेन प्रकारेण चलिरहेको अवस्थामा स्वदेशमा कुनै रोजगार नपाइने भएपछि नेपालीहरू विदेशमा आफ्नो पसिनासँग पैसा साटिरहेका छन् । देशमै रोजगारी उपलब्ध नभएपछि वैदेशिक रोजगार एकमात्र विकल्प बनेको छ । ऋण धन, घरखेत जे गरेर भए पनि विदेशमा जानेहरूको लहर नै चलेको देखिन्छ । तिनीहरूले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ ।
वार्षिक रूपमा श्रम बजारमा प्रवेश गर्ने पाँच लाख युवामध्ये दुई तिहाइभन्दा बढीको आधार वैदेशिक रोजगार भएको छ । वैदेशिक रोजगारीमा ठगिने नेपाली युवाहरू पनि त्यत्तिकै छन् । कति सम्बन्धित देशमा नपठाइकनै ठगिने गरेका छन् भने कति भनेजस्तो काम र दाम नपाएर ठगिएका छन् ।
भारतबाहेक एसिया, युरोप, अमेरिकालगायत मुलुकहरूमा ५० लाखभन्दा बढी नेपालीहरू रोजगारमा गएको तथ्यांकले देखाउँछ । अध्ययन, व्यवसाय तथा बसाइँ गएको छुट्टै तथ्यांक छ भने भारत तथा अन्य बाटो भएर गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा गइरहेकाहरूको संख्या त्यत्तिकै छ । यसरी रोजगारीका लागि विदेसिनेमा महिलाको संख्या उल्लेख्य छ । त्यसका लागि उनीहरूमध्ये केहीले भारतीय बाटो प्रयोग गरिरहेका छन् भने केहीले पर्यटन भिसा वा सेटिङ मिलाएर जाने गरेका छन् ।
पछिल्लो सरकारी तथ्यांक अनुसार प्रतिदिन १५ सयभन्दा बढी नेपाली कानुनी रूपमा नेपालको एयरपोर्ट प्रयोग गरी वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी विदेसिने सबै नेपालीहरू सन्तुष्ट छन् त ? त्यस्तो अध्ययन नगर्ने खास निकाय नभए पनि विभिन्न समाचार, अध्ययन, अनुभवले के देखाउँछ भने वैदेशिक रोजगारमा केहीले राम्रै गरेका भए तापनि वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको भए तापनि वैदेशिक रोजगारभित्र एउटा छुट्टै पीडा, व्यथा र मर्म छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये दैनिकजसो अकालमा मृत्यु, दुर्घटना, घाइते, अपांग, दीर्घरोगी, आर्थिक तथा शारीरिक शोषण, अलपत्र परेका जस्ता समाचारहरू आइरहेका हुन्छन् । अव्यवस्थित राज्य संयन्त्र, अर्धदक्ष र अदक्ष नेपाली कामदार, गैरजिम्मेवार मेनपावर व्यवसायीका कारण कैयौं नेपालीहरूले विदेशमा पीडा भोगिरहेको एउटा यथार्थ छ भने झन्झटिलो कागजी प्रक्रिया, भाषाको समस्या, अनियन्त्रित शुल्क असुली, झुटो आश्वासन आदिका कारण शोषणमा परिरहेको अर्को यथार्थ छ । वार्षिक रूपमा श्रम बजारमा प्रवेश गर्ने पाँच लाख युवामध्ये दुई तिहाइभन्दा बढीको आधार वैदेशिक रोजगार भएको छ । वैदेशिक रोजगारीमा ठगिने नेपाली युवाहरू पनि त्यत्तिकै छन् । कति सम्बन्धित देशमा नपठाइकनै ठगिने गरेका छन् भने कति भनेजस्तो काम र दाम नपाएर ठगिएका छन् ।
भन्थ्यौ आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ ।
कालो बादल नीलो आकाशमा, गयौ आमा चढेर जहाजमा, फक्र्यौ बाकसमा ।।
‘परदेशी’ चलचित्रमा समेटिएको यो चर्चित गीतले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा दुःख, कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेकाहरूको दुःखपीडा र वेदना यसरी पोखिएको छ-जुन दुःखपीडा आमनेपालीको नियतिजस्तै बनेको छ । सामान्य घरखर्च चलाउनदेखि घरबार जोड्नसम्म विदेशकै सपना देख्ने मानसिकताका कारण वैदेशिक रोजगार चलचित्र परदेशीको गीतले भनेझैं- ‘जाँदा जहाजमा आउँदा बाकसमा’ जस्तै हुने गरेको छ । जीवनको ऊर्जाशील समय खाडी देशहरूको मरुभूमिमा बिताउनु रहर नभई बाध्यता हो ।
विदेशमा दुःख गरेर कमाएको रकमको पनि सही सदुपयोग हुन सकेको छैन । विदेशमा गएका नेपालीबाट भित्रिएको रेमिट्यान्सको झण्डै ८० प्रतिशत अंश दैनिक उपभोग्य वस्तु तथा मनोरञ्जनमा खर्च हुने गरेको एक सर्वेक्षणले देखाएको छ । रेमिट्यान्सबाट प्राप्त हुने कुल रकमको दुई दशमलव चार प्रतिशत अंशमात्र पुँजी निर्माणमा खर्च हुने गरेको छ । तर, वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरूको जीवनस्तर भने सुध्रिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
नेपालका अधिकांश युवा जनशक्ति विदेश गएका छन् । यहाँ केवल वृद्ध, वृद्धा र अशक्त मानिसमात्र बस्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुन थालेको छ । राजनीतिक अस्थिरता, रोजगारीको अभाव जस्ता कारणले वैदेशिक रोजगारीमा जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । युवा जनशक्तिबाट मुलुकले मुहार फेर्न सक्दथ्यो । तर, त्यो मुहार फेर्ने काममा युवा जनशक्तिलाई प्रयोग गर्न सरकार सकिरहेको छैन । बडो मिहिनेतका साथ फलाइएको फल अर्कैले कप्प खाइदिँदा कति नरमाइलो लाग्छ । फल फलाउनेले फलको स्वाद नै चाख्न पाएको हुँदैन अर्कैले त्यसको स्वाद लिन्छ । अहिले यस्तै फलाएको फलजस्तै भएको छ, युवा जनशक्ति । बुबाआमाले बडो मिहिनेतका साथ आफ्ना बालबच्चालाई गुणस्तरीय बोर्डिङ स्कुलमा पढाउँछन् र दक्ष जनशक्ति उत्पादन हुने समयमा विदेशतिर लाग्छन् अर्थात् फल फल्न सुरु हुन्छ अनि विदेशतिर फल जान्छ र स्वदेशमा बुढो बोटमात्र रहन्छ ।
युवाहरूमा यतिखेर विदेश पलायन रहरभन्दा विवशता भएको छ । राजनीतिक अस्थिरता, रोजगारीको सम्भावना नभएकाले नेपाली युवाहरूका लागि वैदेशिक रोजगार पछिल्लो र एकमात्र विकल्पजस्तो बन्न पुगेको छ । दक्ष जनशक्ति ठानिएका युवाहरू पनि कठिन जोखिम र अस्वस्थकर काम गर्न देशबाहिर जाने गरेका छन् । वैदेशिक रोजगारलाई समाज र सरकारले सहजै स्वीकार गरेको छ । अभिभावकहरू वैदेशिक रोजगारमा आफ्ना छोराछोरी गएको सुनाउँदा आफूहरूलाई निकै गौरवान्वित भएको महसुस गर्दछन् । सरकारले रोजगारका अवसरहरू सिर्जनाका लागि उपयुक्त वातावरण बनाउनुभन्दा वैदेशिक रोजगारीमा जानका लागि बढी प्रोत्साहन गरेको छ ।
राज्यले वैदेशिक रोजगारलाई राष्ट्रिय पौरखका रूपमा प्रस्तुत गरेको पाइन्छ । वैदेशिक रोजगारबाट प्राप्त ज्याला मजदुरीका भरमा कुनै मुलुक सम्पन्न भएको छैन भन्ने कुरा सरकारले सोच्नुपर्ने हो, सोचेको छैन । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिने युवा जनशक्ति उमेर छउन्जेल विदेशमा बस्छन् र उमेरले डाँडा काटेपछि वा अशक्त भएपछि मुलुकमा फर्कन्छन् । यस्तै स्थिति लामो समयसम्म रहने हो भने मुलुक अधोगतितर्फ लाग्ने निश्चित छ । युवा जनशक्ति विदेशमा पलायन भइरहने हो र अशक्त भएपछि मात्र स्वदेश फर्कने हो भने मुलुकका लागि त्यो बोझ मानिनेछ । मीतको भरमा छोरी पालिँदैन भन्ने उखान लागू हुन्छ । विदेशमा कमाएको रकम रेमिट्यान्सले देशको विकास हुन सक्दैन । साँच्चै नै देशको विकास गर्ने हो भने स्वदेशमै रोजगारीको अवसर दिनुपर्छ । दक्ष जनशक्ति युवाहरूलाई उचित व्यावहारिक ज्ञान दिनुपर्छ । सरकारले वैदेशिक रोजगारलाई प्रश्रय दिँदै आएको छ । यसप्रकारको अदूरदर्शी नीतिले राष्ट्रिय अर्थतन्त्र र सामाजिक असन्तुलन पैदा गर्दछ । यस्तै खाले नीति सरकारले अपनाउने हो भने राष्ट्रको विकास हुन सक्दैन । वास्तवमै समृद्ध नेपालको निर्माण गर्ने हो भने दक्ष युवा जनशक्तिलाई स्वदेशमै लगाउनुपर्दछ ।
पृथ्वीको स्वर्गका नामले चिनिने नेपाल राष्ट्रका हामी राजनीतिक कुपात्रका कारण आज यो अवस्थामा छौँ । प्रकृतिले हामीलाई अनुपम उपहार त दियो तर त्यसको सही सदुपयोग कुन सकेन । दिनहुँ हाम्रो अर्बाैंको सम्पत्ति बगेर खेर गइरहेको छ । संसारमै दुर्लभ औषधियुक्त जडिबुटी र वनजंगलको भण्डार हामीकहाँ छ । हिमाल र पहाडले आफ्नो गर्भमा लुकाएर राखेका विविध प्रकारका खनिज पदार्थ, ढुंगा तथा बालुवा हाम्रा हिरामोतीका भण्डार हुन् । यसका अतिरिक्त पूर्वको कञ्चनजंघादेखि पश्चिमको व्याससम्म र उत्तरको हिमालदेखि दक्षिणको समथर तराईसम्मको सिंगो नेपाल संसारकै सर्वश्रेष्ठ पर्यटन केन्द्र हो । त्यसकारण पर्यटन क्षेत्रले मात्रै नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिन्छ ।
तर, हाम्रो वर्तमान भनेको आफ्नो सम्पत्तिलाई सदुपयोग गर्न नसकेर भोको पेट र नांगो जिउ देखाउँदै मगन्ते बनेर संसारसामु हात थाप्दै हिँडेको अवस्था छ । यसको कारण के हो ? युवाहरूले यसको कारण खोजी देशको अवस्थालाई काँधमा बोक्ने बेला आएको छ । नत्र भने भावी पुस्ताले हामीलाई माफ गर्ने छैन ।
नेपालको आर्थिक विशेषता भनेको जल, जंगल, जडिबुटी (कृषि) र पर्यटन हो । यिनै चार क्षेत्रमा आधारित उद्योगधन्दा खोलेर नेपालमा आर्थिक क्रान्ति गर्न सम्भव छ । विदेशबाट कच्चा सामान आयात गरेर सञ्चालन गरिने उद्योगधन्दाहरूबाट नेपालको आर्थिक क्रान्ति हुन सम्भव छैन । नेपाललाई आवश्यक पर्ने अन्य सामग्रीहरू विदेशमै उत्पादन भएका मगाउनुपर्दछ र नेपालले निर्यातमुखी उद्योगहरू स्थापना गर्नुपर्दछ । देश विकासका लागि युवा शक्तिको पलायनलाई रोक्न जरुरी छ ।
नेपालको आर्थिक विशेषता भनेको जल, जंगल, जडिबुटी (कृषि) र पर्यटन हो । यिनै चार क्षेत्रमा आधारित उद्योगधन्दा खोलेर नेपालमा आर्थिक क्रान्ति गर्न सम्भव छ । विदेशबाट कच्चा सामान आयात गरेर सञ्चालन गरिने उद्योगधन्दाहरूबाट नेपालको आर्थिक क्रान्ति हुन सम्भव छैन ।
भूगोल, जलवायु, हजारौं धार्मिक र ऐतिहासिक स्थल साथै प्राकृतिक सौन्दर्यताका कारणले मात्रै होइन नेपालमा प्रवेश गर्नेबित्तिकै मान्छेले शान्तिको अनुभूति गर्ने यहाँका सयौं जातजाति, भाषा-भाषी, धर्म सम्प्रदाय मान्ने मान्छेहरू आपसमा एउटै परिवारजस्तो गरी मिलेर बसेको देख्दा विकसित देशहरूबाट नेपाल आउने मान्छेले आश्चर्य मान्दै हाम्रो संस्कृति, सामाजिक मर्यादा र भाइचाराको सम्बन्ध देख्दा लोभिने गर्दछन् । यहाँ बसोवास गर्ने सयौं जातजातिका भाषा, संस्कृति, भेषभूषा, धर्म परम्पराको कारणले नेपाल संसारकै सुसंस्कृत राष्ट्रमा पर्दछ । त्यसकारण यहाँका सबै जातले बोल्ने भाषा, संस्कृति, भेषभूषा, धर्म, परम्परा नेपालका गौरव हुन् ।
सनातन परम्पराले विश्वमा नेपालको पहिचान गराउने गरी छुट्टै अस्तित्व राखेको छ । यही सनातन बौद्धिक परम्परा नेपाली राष्ट्रिय एकताको आधार पनि हो । इतिहास, संस्कृति, प्राकृतिक साधन र स्रोतले सम्पन्न हुँदाहुँदै हामी नेपाली किन भिखमङ्गा भयौँ ? किन हामीले मगन्तेका रूपमा विश्वमा हेपिनुपरेको छ । नेपालमा आर्थिक क्रान्ति गर्न सर्वप्रथम उक्त प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ र युवा शक्तिलाई देश विकासमा लगाउने नीति सरकरले लिनुपर्छ न कि विदेश पठाएर रेमिट्यान्समा रमाउने । यसले क्षणिक लाभ पुगे पनि हामी झन्-झन् गरिबीको रसातलमा पुग्ने निश्चित छ ।
युवा समाज र विश्व निर्माणको मेरुदण्ड हो । सुरक्षामा युवाको रणकौशल, सुरक्षा चेत, साहस चाहिन्छ । निर्माणमा युवाकै समर्पण, त्याग र निखार चाहिन्छ । युवाविनाको उद्यम मध्यम पनि हुन सक्दैन । युवाविनाको खेलकुद कि त बालखेल हुन्छ कि त धार्मिक अनुष्ठानको नृत्य । युवाविनाको न्याय अन्याय हुन्छ । अनि यही युवालाई विदेश पठाएर हामी कस्तो राष्ट्र निर्माण गर्न खोजिरहेका छौं ?
धेरै राम्रो लाग्यो दाजु हजुरको लेख पढ्न पाए।।