सिटीको बराबरी, आर्सनलको जित

Read Time = 4 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनलले जित हात पारेको छ । आर्सनलले घरेलु टोली ब्राइटनलाई चार–दुईले पराजित गरेको हो । आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, इडुआर्ड एनकेइटा र गाब्रियल मार्टिनेलीले गोल गर्नुभयो । ब्राइटनका काओरु मितोमा र इभान फर्गुसनले गोल फर्काउनुभयो ।

खेलको दोस्रो मिनेटमा नै बुकायो साकाको गोलबाट आर्सनलले एक-शून्यको अग्रता लिएको थियो । ३९औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा दुई–शून्यको अग्रता दिलाउनुभयो । ४७औँ मिनेटमा इडवार्ड एनकेइटाले गोल गरेपछि आर्सनलले खेलमा तीन-शून्यको अग्रता बनाएको थियो । ६५औँ मिनेटमा कोओरु मितोमाले गोल गर्दै खेललाई तीन–एकको स्थितिमा ल्याउनुभयो ।
७१औँ मिनेटमा ओडेगार्डको पासमा गाब्रिल मार्टिनेलीले गोल गर्दै आर्सनललाई चार-एकले अघि बढाउनुभयो भने ७७औँ मिनेटमा इभान फर्गुसनले गोल गर्दै खेललाई चार-दुईको स्थितिमा समाप्त गर्नुभयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई सात अंकले पछि पारेको छ । आर्सनलको १६ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै सिटीको ३६ अंक छ । पराजित ब्राइटन २४ अंक जोडेर आठौँ स्थानमा छ ।

यस्तै, म्यानचेस्टर युनाइटेडले वल्भ्सलाई उसकै मैदानमा एक-शून्यले पराजित गर्‍यो । युनाइटेडका लागि रासफर्डले दोस्रो हाफको ७६औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । प्रिमियर लिगमा युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि युनाइटेडले फुलहमलाई दुई–एकले तथा नटिङहम फरेस्टलाई तीन-शून्यले पराजित गरेको थियो ।

यस जितसँगै युनाइटेड १६ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग आठ अंकले पछि छ । आर्सनलले एक खेल कम खेलेको छ । पराजित वल्भ्स १३ अंक जोडेर १९औँ स्थानमा रहेको छ ।

यस्तै, म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग एक–एक गोलको बराबरीमा रोकियो । सिटीका लागि एर्लिङ ब्राउट हालान्डले गोल गर्दा एभर्टनका डेमाराई ग्रेले बराबरी गोल फर्काउनुभयो । इतिहाद स्टेडियम म्यानचेस्टरमा शनिबार राती भएको खेलको २४औँ मिनेटमा हालान्डको गोलबाट सिटीले पहिलो हाफमा एक-शून्यको अग्रता लिएको थियो । ६४औँ मिनेटमा डेमाराई ग्रेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो ।

यस बराबरीसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दूरी छोट्याउने अवसर गुमाउँदा सात अंकले पछि परेको छ । दोस्रो स्थानमा रहेको सिटीको १६ खेलबाट ३६ अंक पुगेको छ । आर्सनलको समान खेलबाट ४३ अंक छ । एभर्टन १५ अंक जोडेर १६औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?