खोटाङ । खोटाङमा कुनैबेला सुन्तलाको केन्द्र भनेर लामिडाँडालाई चिन्ने गरिन्थ्यो । लामिडाँडाको सुन्तला गाडीले मात्रै बोकेन । दैनिक रूपमा काठमाडांै, विराटनगर उडान भर्ने हेलिकोप्टर र हवाईजहाजले पनि बोक्ने गर्दथ्यो । रावाबेंशी गाउँपालिका–३ लामिडाँडाको सुन्तलासँग अपवादबाहेक सबै जानकार भएको हुनुपर्छ । लामिडाँडाको भञ्ज्याङदेखि विमानस्थलसम्म सडकको दायाँबायाँ लटरम्म फलेका सुन्तला चाखेकाहरूको मुख अहिले पनि रसाउँछ । मानसपटलमा ती दृश्य झलझली आउँछन् । तर, अहिले तिनै सुन्तलाको केन्द्र लामिडाँडामा एकै दाना सुन्तला पाइँदैन ।
जरा कुहिने, हाँगा सुक्दै जाने, पात पहेँलो हुँंदै बोटै सुक्ने समस्याका कारण लामिडाँडामा अहिले सुन्तला चाख्नसमेत पाइँदैन । सुन्तलाका सबै बोट सुकेर झिक्रा भएपछि बगान रित्तिएको छ । अहिले मरिसकेका र सुकेका सुन्तलाका बोटहरू मात्रै पाइन्छ । सुन्तलाका बोट दाउरामा परिणत भएको छ । सुन्तला खान बाहिरबाट मगाउनुपर्छ । लामिडाँडा उजाड बनेको छ ।
लामिडाँडामा प्रायः सबै कृषकले सुन्तला रोपेर राम्रै आम्दानी गरिरहेका थिए । तर, २०७२ सालपछि सुन्तलामा एकाएक समस्या आउन थालेको किसानको अनुभव छ । १०५ बोट सुन्तला रोपेकामा अहिले सबै सुकेर शून्य भएको लामिडाँडाका शिवकुमार विश्वकर्माले गुनासो पोख्नुभयो । सिजनमा सुन्तला फल्दा बेचेर बालबच्चालाई कापी, कलम किन्न र घरायसी खर्च गर्न पुग्थ्यो । अहिले त बारी नै रित्तियो विश्वकर्माले भन्नुभयो । २५० बोट सुन्तलाबाट उत्पादन लिँदै आउनुभएका पुष्टनारायण श्रेष्ठको पनि बगान रित्तिएको छ । उहाँले अहिले सुन्तलाको बगान बनाएको स्थानमा केरा खेती गर्नुभएको छ । जहाज र हेलिकोप्टरमा सुन्तला अन्यत्र पठाउनुभएका श्रेष्ठलाई ती दिनहरू कथाजस्तो लाग्छ ।
लामिडाँडाका सुन्तलाको पाँचवटा सेम्पल पिसिआर गर्दा सिट्रस ग्रिनिङ रोग पत्ता लागेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो । सिट्रस ग्रिनिङ रोगसँगै झ्याउ पलाउने, डाँठहरू कुहिने, टुप्पोहरू मर्दै तल आउनाले सुन्तलाको बोट मासिएको यादवले सुनाउनुभयो । सुन्तलामा सिट्रस ग्रिनिङ लागेपछि निको पार्न सकिँदैन, यो माइक्रोप्लाज्माले लाग्ने रोग हो । अब अन्त फैलिन नदिन सिट्रस सिल्ला किरालाई नियन्त्रण गर्नुको विकल्प छैन । त्यहाँ नयाँ बोटहरू रोप्ने बेलामा प्रमाणित विरुवा सिफारिस गर्छौं यादवले भन्नुभयो ।
कृषि ज्ञान केन्द्रले लामिडाँडाका सुन्तला जोगाउन जरा कुहिने रोगबाट बचाउन कोनिका विषादी, सिट्रस सिल्ला किरा नियन्त्रण गर्न डेल्टा मेथ्रिन, रोगी विरुवाको हाँगा काँटछाँट गर्न सिकेचर मेसिन, किराहरू नियन्त्रण गर्न आकर्षण पासो तथा सिट्रस ग्रिनिङ र सिट्रस सिल्लाका बारेमा तयार गरिएको हाते ब्रुसर वितरण गरिसकेको छ ।
सुन्तलाले प्रसिद्धि कमाएको ठाउँको पहिचान नै गुम्ने भएपछि स्थानीय सरकार चिन्तित बनेको छ । सुन्तला बचाउन विज्ञ झिकाएर खोज अनुसन्धान गर्नमा स्थानीय सरकार पनि राम्रै लागि परेको देखिन्छ । तर, त्यसो गर्दा पनि तत्काल सुन्तलाको समस्याको निकास ननिस्केपछि अहिलेलाई भएका सुन्तलाका विरुवाहरूलाई परीक्षण गर्दै हुर्काउने र अर्को वर्षदेखि प्राविधिक ट्रिटमेन्ट भएको सुन्तलाका विरुवाहरू मात्रै लगाउने÷वितरण गरिने रावाबेंशी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो ।
लामिडाँडामा सुन्तला मासिएसँगै त्यहाँका कृषकहरूले खाली भएका बारी र बगानहरूमा विकल्पका रूपमा केरा तथा तोरी खेती गर्न थालेका छन् । छिमेकी वडा खार्पा, कुभिण्डेको सुन्तलामा पनि यही समस्या भएर सुन्तला मासिँदै गएको छ ।
समग्र जिल्लामा भने उत्पादन वृद्धि
खोटाङको समग्र जिल्लामा भने सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० मा सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा ८१० हेक्टरमा तीन हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन हुँदा चालु आर्थिक वर्षमा ७४२ हेक्टरमा तीन हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभयो ।
ज्ञान केन्द्रका अनुसार गत आर्थिक वर्षमा उत्पादन क्षेत्र बढाउँदा पनि सुन्तला कम फलेको थियो । चालु आर्थिक वर्षमा उत्पादन क्षेत्र घटाउँदा पनि उत्पादन बढेको हो । यसवर्ष राम्रो मौसम तथा रोग किरा कम लाग्दा हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, सल्ले, वराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको छोरम्बु, याम्खामा सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा ७४० हेक्टरमा तीन हजार ३३० मेट्रिक टन र आर्थिक वर्ष २०७६/०७७ मा ७४० हेक्टरमा ६ हजार ५८६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको दोर्पा, हलेसी, सल्ले, सुन्तले, घोर्ले, छोरम्बु, याम्खा, कुभिण्डे, खार्पा, टेम्मा, चिसापानी, रतन्छा, मंगलटार, राजापानी, काहुले, लामिडाँडा, डम्बर्खुशिवालय लगायतका स्थानमा व्यावसायिक रूपमा सुन्तला खेती हुँदै आएको छ । उत्पादित सुन्तला गाडी तथा ट्याक्टरमा हालेर सदरमुकाम दिक्तेल तथा छिमेकी जिल्ला उदयपुरको गाईघाट बजार लाने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच