कांग्रेस संसदीय दलको नेतामा शाह

हिमालय टाइम्स
Read Time = 4 mins

यज्ञराज जोशी/हिटा
धनगढी । अघिल्लो दिनसम्म ६ जनाले रस्साकस्सी गरिरहेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध चयन हुनुभएको छ । बुधबार बिहानसम्म पनि ६ जनाले दाबी गरिरहँदा दिउँसो भने दाबी गरेकैहरूको समर्थन र प्रस्तावबाट कैलालीबाट शाह सर्वसममत रुपमा संसदीय दलको नेतामा चयन हुनुभएको हो ।

संसदीय दलको नेताका लागि प्रदेशमा कञ्चनपुरका दिवानसिंह विष्ट, बहादुरसिंह थापा, कैलालीका प्रकाश देउवा, कमलबहादुर शाह, अछामका मेघराज खड्का र बैतडीका शिवराज भट्ट आंकाक्षी हुनुहुन्थ्यो । सहमति नजुटेपछि निर्वाचन समितिले दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिएको थियो । तर, मनोनयन दर्तामा कमलबहादुर शाहबाहेक अन्य आंकाक्षीहरू नभएपछि उहाँ सर्वसम्मत रुपमा कांग्रेस संसदीय दलको नेता चयन हुनुभएको हो । शाहको नाममा प्रकाश देउवा समर्थक र बहादुरसिंह थापा प्रस्तावक हुनुहुन्थो ।

केन्द्रको हस्तक्षेपपछि शाहको नाममा सहमति जुटेको एक आकांक्षीले हिमालय टाइम्सलाई बताउनुभयो । शाह संस्थापन इतरका हुनुहुन्छ । त्यसबाहेक अन्य आकांक्षीहरू विष्ट र थापा पनि संस्थापन इतर पक्षको हुनुहुन्छ भने देउवा, खड्का र भट्ट संस्थापन पक्षका हुनुहुन्छ । ‘अन्तिम समयमा केन्द्रको हस्तक्षेप भएपछि शाहको नाममा सहमति भएको हो । नत्र निर्वाचनमा जाने निशिच थियो,’ ती नेताले भन्नुभयो, ‘शाहले पार्टीको कैलाली जिल्लाको १४ औं महाधिवेशनमा संस्थापन पक्षका सभापति पदका उम्मेदवारलाई सहयोग गर्नुभएको थियो । त्यसले उहाँलाई संस्थापन इतरले यसपल्ट सहयोग गरेको हो ।’

नेपाली कांग्रेस कैलालीको १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा इतर पक्षबाट उम्मेदवार बन्नुभएको रामबहादुर कलेललाई कमलबहादुर शाहले साथ दिनुभएको थियो । सोही योगदानका आधारमा कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट शाहलाई संसदीय दलको नेतामा विजयी गराएको हो । दलको नेतामा चयन भएपछि शाहले पार्टीले आफूलाई न्याय गरेको बताउनुभएको छ । ‘पार्टीले मलाई दलको नेता बनाई न्याय गरेको छ,’ उहाँले भन्नुभयो, ‘सत्तापक्ष वा प्रतिपक्ष नभई प्रदेशको समग्र हितका लागि मेरो भूमिका रहने छ ।’ शाह नेपाल तरुण दलका पूर्व केन्द्रिय उपाध्यक्ष तथा महासमिति सदस्यसमेत हुनुहुन्छ ।

गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको आम निर्वाचनको परिणाम अनुसार सुदूरपश्चिममा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमत पुर्‍याउन २७ सदस्य आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसकै मात्र प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सातसहित १९ सिट छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?