सजाय फैसला भएकै दिन कैदमुक्त

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा जेठाजु थम्मनबहादुर मल्ललाई एक वर्ष कैद सजाय भएको छ । मल्ल सजाय फैसला भएकै दिन कैदमुक्त भएका छन् । सम्झना २०७६ असोज २२ गते राति झुण्डिएको अवस्थामा मृत भेटिनुभएको थियो । सम्झनाका दाजु तुलबहादुर शाहीले बहिनीका जेठाजु थम्मनबहादुर, मेघध्वज र जेठानी मिठुकुमारी मल्लविरुद्ध बहिनीलाई कुटपिट गरी झुण्डाएर हत्या गरिएको भन्दै उजुरी प्रहरीमा उजुरी दिनुभएको थियो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस १९ गतेको अन्तिम आदेशले आंशिक अभियोग दाबी पुग्ने भन्दै थम्मनलाई कैदसँगै २५ हजार जरिवाना फैसला ग¥यो । मेघध्वज र मिठुलाई भने अदालतले सफाइ दियो । प्रहरीले आरोपित तीनै जनालाई २०७८ पुस १५ गते पक्राउ गरी ०७८ माघ १० गते सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

अदालतको २०७८ माघ १५ गतेको आदेशले थम्मन र मेघध्वज पुर्पक्षको लागि थुनामा रहेका थिए भने मिठु तीन लाख ५० हजार धरौटीमा छुटेकी थिइन् । अदालतले थम्मनलाई एक वर्ष कैद सजाय फैसला गरे पनि पुर्पक्ष र अनुसन्धानको क्रममा बसेको हिरासतको समय जोड्दा सजाय भुक्तान भइसकेको छ । उनी सजाय निर्धारण भएकै दिन कैदमुक्त भएको जिल्ला अदालत बागलुङका इजालास अधिकृत गंगाधर सापकोटाले बताउनुभयो ।

अदालतको अन्तिम आदेशमा मृतक सम्झनालाई कुटपिट गरी झुण्डाएर हत्या गरेको अभियोगमा थम्मन, मेघध्वज र मिठुले सफाइ पाए पनि थम्मन बहादुरले सम्झनालाई झुण्डिएर मर्न बाध्य बनाएको अभियोग ठहर भएको हो ।
झुण्डिएर मर्न बाध्य बनाएको कसुरमा थम्मनबहादुर मल्ललाई आत्महत्या दुरुत्साहन अभियोगअनुसार कैद सजाय फैसला भएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?