स्थानीय तहसँग लागू औषध नियन्त्रणको अभियान चलाउँदै प्रहरी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहसंग लागू औषध नियन्त्रणको जिल्ला प्रहरी कार्यालयले अभियान सूरु गरेको छ । हिमाली जिल्ला जुम्लामा पछिल्लो समयमा लागूऔषधको सेवन र कारोबार बढ्दै गएपछि यहाँका स्थानीय तहमै गएर लागूऔषध नियन्त्रणको अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दे जानकारी दिनुभयो ।

प्रत्येक स्थानीय तहको केन्द्रमा सचेतनामुलक कार्यक्रम गरेर अभियान थालिएको छ । प्रहरी नायव उपरीक्षक चन्दले भन्नुभयो, “लागूऔषध कारोबार र सेवन गर्नेको संलग्नता बढेको व्यापक जनगुनासो आएपछि । हरेक विद्यालय र एसईई दिने विद्यार्र्थीलाई बढी सचेत दिने काम भएको छ । यसको नियन्त्रणमा सबै लाग्नु पर्ने देखिएको छ । हरेक पालिकास्तरमै सचेतना फैलाउने अभियान थालिएको छ ।” स्थानीय तहसँगको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई माध्यम बनाएर कार्यक्रम भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ ।

सिंजा गाउँपालिकाबाट लागूऔषध नियन्त्रण अभियान सुरु भएको छ । जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबीचमा सो विषयमा छलफल भएको हो । परिवार तथा अभिभावकको हेलचक्य्राईँ र निगरानी अभावमा किशोरकिशोरी अवस्थाका पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ब्राउन सुगर र चरेसका ४ वटा मुद्दा दर्ता भएकाछन् । ४० देखि ६० वर्षका २ जना रहेका छन । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत अघि बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो । जिल्लामा आर्थिक वर्ष २०७७–०७८ मा ब्राउनसुगर र चरेस गरी ५ वटा मुद्दा दर्ता भएकाछन् । आर्थिक वर्ष २०७८–०७९ मा ब्राउनसुगर र चरेस सेवनका घटनामा ७ वटा मुद्दा दर्ता भएकाछन् ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु लागूऔषधको लतमा फसेको तथ्यांकले देखाएको छ । ब्राउनसुगर, जस्ता लागूऔषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने र लागूऔषध कारोबारीहरुको संजाल तोड्न प्रहरीसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?