मतदानमा असर पुर्‍याउन खोज्ने पाँच जना पक्राउ

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बारामा आइतबार भइरहेको उपनिर्वाचनमा असर पुर्‍याउन खोजेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले देवताल गाउँपालिका-७ को मतदान केन्द्रबाट बाराका २ र रौतहटका ३ जना गरी ५ जनालाई नियन्त्रणमा लिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी गराउनुभयो ।

प्रहरीले जनता समाजवादीका स्थानीय नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

यादवले सक्कल मतपत्र सँगै नमुना मतपत्र समेत मतपेटिकामा खसाल्न खोजेपछि नियन्त्रणमा लिएको प्रजिअ सापकोटाले बताउनुभयो । अन्य चार जनालाई हो हल्ला गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका पाँचै जनालाई साँझ ५ बजेपछि रिहा गरिने प्रजिअ सापकोटाले जानकारी गराउनुभयो ।

बारामा अहिलेसम्म १८ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको छ । जिल्लामा कुनै पनि ठाउँको मतदान केन्द्र कसैले कब्जा नगरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले स्पष्ट पार्नु भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका कार्यकर्ताले केही मतदान केन्द्र कब्जामा लिएको आरोप लगाउनु भएको थियो ।

बाराको निर्वाचन क्षेत्र २ मा विहान ७ बजे देखि मतदान शुरु भएको छ । मतदान जारी रहेको र अरु काहीँ पनि कुनै किसिमको अहिले सम्म कुनै अप्रिय घटना नघटेको प्रजिअ सापकोटाले बताउनुभयो । अहिलेसम्म मतदान शान्तिपूर्ण चलिरहेको उहाँले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?