उखुको लाक्रा बोकेर प्रदर्शन गर्दै किसान

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीका उखु किसानले आज हरिवनमा उखुको लाक्रा बोकेर प्रदर्शन गरेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका यहाँका उखु किसानले आज हरिवनमा उखुको लाक्रा बोकेर नारा, जुलुस निकाल्न लागेका हुन् ।

आन्दोलनको तयारी स्वरुप हिजो नै हरिवनमा बृहत भेला सम्पन्न भएको थियो । किसानले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।

आन्दोलन अन्तर्गत आज मध्यान्ह हरिवनमा उखुको लाक्रासहित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्न लागिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिनुभयो । हिजो किसानलाई भेला पारेर आन्दोलनको औचित्य प्रष्ट पार्दै आगामी दिनमा के-कसरी अगाडि बढ्ने ? भनी छलफल गरिसकिएको उप्रेतीले बताउनुभएको छ ।

आजको प्रदर्शन र नाराजुलुसपछि पुनः बैठक गरेर आन्दोलनको थप कार्यक्रम तय गर्ने उखु किसानका नेताले बताएका छन् । आज हरिवनस्थित कृष्ण चोकमा भेला भएर इन्दुशंकर चिनी उद्योगसम्म लाक्रा जुलुस निकालेर पुनः हरिवन बजारमा फर्किएर कोण सभा गरियको छ । आज नै सर्वदलिय संघर्ष समिति समेत बनाइने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् ।

मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि किसानले अस्वीकार गरेका छन् । चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने किसानको माग छ । गएको वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?