प्रितीलाई अम्ब्रोको साथ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर तथा फरवार्ड प्रिती राईले अम्ब्रो नेपालले प्रायोजन सहयोग गरेको छ । अम्ब्रोले प्रितीसँग एक वर्षका लागि ६ लाख रुपैयाँको सम्झौता गरेको हो ।

सम्झौतामा प्रिती र भाटभटेनी होल्डिङ कम्पनीका प्रबन्ध निर्देशक पवन सर्राफले हस्ताक्षर गर्दै आदान-प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै भाटभटेनी होल्डिङ्स कम्पनीका बिजिनेस हेड आलोक जोशीले खेलकुदलाई सहयोग गर्ने क्रममा प्रितीसँग सहकार्य गरिएको बताउनुभयो । सोही कार्यक्रमका दौरान भाटभटेनी सुपर मार्केट तथा भाटभटेनी होल्डिङका निर्देशक कल्याण गुरुङले प्रितीलाई खेल सामग्री प्रदान गर्नुभएको थियो ।

सम्झौता कार्यक्रममा प्रितीका पहिलो प्रशिक्षक राजु सिंह पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले प्रितीलाई नौ वर्षको उमेरमा प्रशिक्षण दिएको स्मरण गर्दै आफूले सिकाएको खेलाडी राष्ट्रिय टोलीको हिस्सा बन्दा खुसी लागेको जनाउँदै थप सफलताको शुभकामना दिनुभयो ।
प्रिती साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपालको टोलीमा समेत हुनुहुन्छ । प्रितीले गत वर्षको भदौमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्नुभएको थियो । उहाँले नेपाली यू-१५ र यू-१८ टोलीको कप्तानी गरिसक्नुभएको छ ।

अम्ब्रोले यसअघि लन टेनिस खेलाडी प्रेरणा कोइरालालाई पनि प्रायोजन गरेको थियो । यस्तै, अम्ब्रोले एनएसएल टोली ललितपुर सिटी एफसीसँगै ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबलाई किट प्रायोजन गरेको थियो । अम्ब्रो विश्व प्रख्यात खेलकुदको ब्राण्ड हो । नेपालमा अम्ब्रोका सामानहरू भाटभटेनी सुपर मार्केटका स्टोरमा उपलब्ध छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?