सत्ता साझेदार दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगियो, यस्ताे भयाे सहमति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ ।

प्रदेश १ मा आजै नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसक्नुभएकाे छ भने बाँकी प्रदेशमा सत्ता साझेदार दलहरुले बाँडफाँट टुंग्याएका छन् ।

आइतबार साँझ बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा बाँकी ६ वटा प्रदेशकामुख्यमन्त्री सहित प्रदेश सभामुख र उपसभामुखसहितको बाँडफाँट टुंगिएको हो।

जस अनुसार गण्डकी र लुम्बिनीमा एमालेकाे नेतृत्वमा सरकार बन्ने छ भने वागमती र सुदूरपश्चिममा माओवादी र एमालेबीच आधाआधा कार्यकाल आलोपालो सहमति गर्ने गरी सहमति भएको छ ।

यसैगरी मधेस प्रदेशमा पनि जसपा र जनमत पार्टीबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने सहमति भएको छ ।

कर्णालीमा माओवादीकाे नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

यसरी नै मधेस र कर्णालीको समामुख एमालेको भागमा परेको छ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

बाग्मतीको सभामुख भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने भएको छ । उपसभामुखको हकमा प्रदेश १ र गण्डकी एमालेले पाउँदा बागमती र कर्णालीको उपसभामुख माओवादी केन्द्रले पाउने भएको छ । लुम्बिनीको उपसभामुख राप्रपा, मधेश प्रदेशको उपसभामखु जनमत पार्टीले पाउँदा सुदूरपश्चिमको उपसभामुख भने नागरिक उन्मुक्तिलाई छुट्याइएको छ ।

आइतबार साँझ बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?