डडेल्धुरामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुरामा सम्बन्ध विच्छेद मुद्दाका घटना बढ्दै गएका छन् । डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका छन् । चालु आर्थिक वर्षदेखि हालसम्म जिम्मेवारी सरी आएकासहित ९२ मध्ये २७ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको र तीमध्ये १० वटा फस्र्योट भएको डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश बालकृष्ण वाग्लले जानकारी दिनुभएको छ ।

सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा सामाजिक सञ्जालको गलत प्रयोग, श्रीमानश्रीमती बीचको असमझदारी, अनैतिक सम्बन्ध र महिलाहरू कानुनी रूपमा सचेत हुनु, कानुनी सहजता र प्रक्रियागत सहजता जस्ता सकारात्मक र नकारात्मक कारणहरू रहेको न्यायाधीश वाग्लले बताउनुभयो । ‘नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको संख्या बढिरहेको छ,’ वाग्लले भने नयाँ मुलुकी संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि सम्बन्ध विच्छेद गर्ने पुरुषका समेत निवेदन आइरहेका छन् ।

यसबाहेक चालु आर्थिक वर्षको अहिलेसम्म चेक अनादरका १२ मुद्दामध्ये दुई फस्र्योट, जबरजस्ती करणीका सातमध्ये ६ फस्र्योट, लेनदेनसम्बन्धी पनि सातवटा मुद्दामध्ये एक मुद्दा मात्रै फस्र्योट, सवारी ज्यानका पाँच, जबरजस्ती करणी उद्योगका चार, घरेलु हिंसा, बालयौन दुरुपयोग, हातहतियार खरखजाना र कर्तव्य ज्यानका तीन/तीन वटा ठगी, मोटरसाइकल चोरी, नाबालक जिम्मा लगाई पाउँ, लिखित सम्झौता, दुष्कृति, इज्जत आम्दानीअनुसार खानलाउन, हाडनाता करणी, बकसपत्र बदर गरिपाउँ, नकवजनी चोरी, आत्महत्या दुरुत्साहन र लागुऔषधका एक/एक गरी २३ प्रकारका मुद्दा परेका छन् ।

अदालतमा विशेष प्रकारका निवेदन पनि गर्ने गरेका छन् । मृत्युको न्यायिक घोषणाका नौवटा निवेदन परेका छन् । जसमध्ये चारवटा फस्र्योट भएका छन् । जिल्ला अदालत डडेल्धुराको तथ्यांकअनुसार २०७९÷८० को पछिल्लो ६ महिनामा जम्मा मुद्दाको संख्या ९२ रहेको छ । जसमा २७ मुद्दा फस्र्योट भएको र ६५ बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?