यज्ञराज जोशी/हिटा
बुटवल, धनगढी । लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनले मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने कार्यक्रम बुधबारका लागि सरेको छ । माओवादी केन्द्रले आधा-आधा सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग राखेपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि मंगलबार दाबी पेस हुन नसकेको हो । यसअघि मंगलबार दिउँसो ४ बजे प्रदेश प्रमुखसमक्ष एमालेका लीला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भनिएको थियो ।
मंगलबार दिउँसो ४ बजे प्रदेश प्रमुख कार्यालयमा समेत मुख्यमन्त्रीको दाबी पेस गर्ने जानकारीसहित तयारी गरिरहेका बेला मंगलबारको उक्त कार्यक्रम स्थगित गरिएको जानकारी गराइएको हो । एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नेकपा माओवादी भित्रको आन्तरिक तयारी नपुग्दा बुधबारको लागि सारिएको बताउनुभयो ।
मुख्यमन्त्रीमा दाबी गरिरहनु भएका माओवादी स्थायी कमिटी सदस्य जोखबहादुर महरा असन्तुष्टि लिएर नेता भेट्न काठमाडौं पुग्नुभएको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने गरी उहाँ काठमाडौं पुग्नुभएको उहाँनिकट एक नेताले जानकारी दिनुभयो । महरा लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गर्नुभएको र प्रचण्डकै सल्लाहमा उहाँ मुख्यमन्त्रीको दाबीसहित रोल्पाबाट चुनाव लड्नुभएको थियो । तर, सातदलीय गठबन्धनमा भएको पावर सेयरिङको क्रममा यस प्रदेशको पूरै कार्यकाल एमालेलाई परेपछि उहाँ असन्तुष्ट हुनुहुन्छ ।
गठबन्धनले एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ । प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न बुधबार ५ बजेसम्मका लागि समय दिनुभएको छ ।
गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार र नागरिक उन्मुक्ति चार, जनमत पार्टीका तीन, जसपाका तीन, स्वतन्त्र दुईसहित ५५ सांसदको हस्ताक्षर जुटाएर दाबी पेस गर्ने तयारी छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन् ।
अहिलेसम्म प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त भइसकेका छन् । प्रदेश १ मा एमालेबाट हिक्मतबहादुर कार्की, बागमतीमा माओवादीबाट शालिकराम जम्कट्टेल र गण्डकीबाट एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री नियुक्त हुन बाँकी मधेश प्रदेशमा जसपा र जनमतले आलोपालो गर्ने सहमति बनेको छ भने कर्णालीमा माओवादीले र सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री पाउने भएको छ ।
प्रदेश १ को सभामुखमा गठबन्धनबाट बाबुराम गौतम उम्मेदवार
प्रदेश १ को सभामुख पदका लागि माओवादी केन्द्रका बाबुराम गौतम सत्ता साझेदारका तर्फबाट उम्मेदवार बन्नुभएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंले पुस २८ मा सभामुखको निर्वाचन गर्न समय तोकेपछि प्रदेशसभा सचिवालयले मंगलबार सूचना निकालेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार अपरान्ह ३ देखि ५ बजेसम्म सभामुख पदका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार प्रदेश १ मा पाँच वर्षका लागि सभामुख पाएको नेकपा माओवादी केन्द्रका तर्फबाट गौतम सभामुखको उम्मेदवार बन्नुभएको हो । ओखलढुंगा प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित गौतमलाई सभामुख बनाउन नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गर्नुभएको छ । मनोनयन पत्रमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य नारायणबहादुर मगर, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेवु र राप्रपाका गोपालबहादुर विश्वकर्माले समर्थन गर्नुभएको हो ।
एमालेका प्रमुख सचेतक भण्डारीले आफूहरूले केन्द्रीय सहमतिअनुसार भएका निर्णयहरूमा सत्ता साझेदारहरूबीच भएको पद भागबण्डामा समर्थन गर्ने नीति लिएको बताउनुभयो । उहाँले माओवादी केन्द्रबाट सभामुखको उम्मेदवार बनाइएका गौतमलाई एमालेले निर्वाचित गराउने बताउनुभयो । मुख्यमन्त्रीमा आलोपालोको माग गर्दै सोमबार गठित मन्त्रिपरिषद्मा माओवादी केन्द्र सहभागी भएको छैन । सरकारलाई गरेको समर्थन कायमै राखे पनि माओवादी केन्द्र अझै सरकारमा सहभागी नहुँदा सत्ता साझेदार दलहरूबीच अझै पनि विश्वासको बलियो वातावरण बन्न नसकेको नेताहरूले बताएका छन् । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्थाअनुसार पुस २८ गते बिहीबार सभामुख र पुस ३० गते शनिबार उपसभामुखको निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ ।
रावल सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने पक्का, आज दाबी पेस गर्दै
नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने पक्का हुनुभएको छ । निर्णायक शक्तिका रूपमा रहेको नागरिक उन्मुक्ति पार्टीले मंगलबार समर्थन गर्ने जनाएसँगै रावल प्रदेशको दोस्रो मुख्यमन्त्री बन्ने निश्चित भएको हो । प्रदेश प्रमुख देवराज जोशीले आज (बुधबार)सम्म दाबी पेस गर्न दिएको समयमा रावलले दाबी पेस गर्नुहुने भएको छ । रावलले एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्तिका गरी कम्तीमा २८ सांसदको समर्थनसहित दाबी पेस गर्नुहुनेछ ।
प्रदेश सरकार बनाउन २७ सांसद आवश्यक हुन्छ । प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन् । त्यसबाहेक चार सिट रहेको एकीकृत समाजवादी र एक/एक सांसद रहेका स्वतन्त्र र राप्रपासँग पनि एमालेले वार्ता जारी राखेको छ । ‘हामीलाई सरकार बनाउन बहुमत पुगेको छ । त्यहीअनुसार बुधबार दाबी पेश गर्दै छौँ,’ रावलले हिमालय टाइम्ससँग भन्नुभयोे, ‘बाँकी दलका साथीहरूसँग पनि छलफल भएको छ । उहाँहरू सरकारमा आउन चाहे हामी खुल्ला छौँ ।’
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ । सभामुखको निर्वाचन २८ गते हुने तय भए पनि माओवादीले सभामुख को हुने टुंग्याइसकेको छैन ।
यता, नागरिक उन्मुक्तिले भने उपसभामुख पाउने केन्द्रको सहमति भए पनि उन्मुक्तिले सरकारमा नजाने तर बहिरबाटै समर्थन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले नै पार्टीका संरक्षण रेशम चौधरीलगायत बन्दीहरूलाई छुटाउने आश्वासन दिएपछि उन्मुक्तिले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । नागरिक उन्मुक्तिले रेशम चौधरीसहित जेलमा रहेकाहरूलाई रिहा, ५८ जनाविरुद्ध लगाइएको मुद्दा खारेज र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ । योसँगै प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष बन्ने भएको छ । कांग्रेसको प्रदेशसभामा १९ सांसद छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच