लुम्बिनी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टि-२० लिगको च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै लुम्बिनीले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैयाँ हात पारेको छ ।

जितको लागि १३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । विराटनगरलाई जितको लागि अन्तिम १२ बलमा ३३ रन चाहिएका बेला बलिङमा आएका लुम्बिनीका किशोर महतोले १९ औं ओभरमा ४ रनमात्रै दिएपछि लुम्बिनी च्याम्पियन बनेको हो ।

विराटनगरका ओपनर अर्जुन साउदले ४० बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाउनुभयो । कप्तान रोहित पौडेल गोल्डेन डक आउट हुनुभयो । हुसेन तालत ८ बलमा २ चौकासहित १३, पृथु बाँस्कोटाले २९ बलमा २ चौका र १ छक्कासहित ३१ रन जोड्नुभयो । लुम्बिनीका सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ तथा हरमीत सिंहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १३३ रनमा आउट भयो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ छक्कासहित ४१ रन बनाउनुभयो । ईशान पाण्डे १८, विपुल शर्मा ५, गुलशन झा ३, साड्ली भान स्केलक्किक १, अनिलकुमार शाह ८ र किशोर महतो २ रनमा आउट हुनुभयो ।

विराटनगरका नन्दन यादवले ३.२ ओभरमा २२ रन खर्चेर २ तथा राज नान्ननले ३ ओभरमा २४ रन २ विकेट लिनुभयो । हुसेन तालत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले एक/एक विकेट लिनुभयो । प्रतियोगिताको उत्कृष्ट बलर काठमाडौं नाइट्सका तीव्र गतिका बलर अभिनाश बोहरा चुनिनुभयो । विराटनगरका बायाँ हाते स्पिनर सूर्य तामाङ प्रतियोगिता उदीयमान खेलाडी बन्नुभयो ।
अभिनाश बोहराले ११ खेलमा ३७.५ ओभर बलिङ गर्दै कुल १९ विकेट लिनुभयो । उहाँले उत्कृष्ट बलर वापत दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । सूर्यले आठ खेलमा २६.४ ओभर बलिङ गर्दै ११६ रन खर्चेर कुल १२ विकेट लिनुभयो । सूर्यले एक लाख ८० हजार प्राप्त गर्नुहुनेछ ।

विराटनगरका हुसेन तालत प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । तालतले १३ खेलमा ३६७ रन बनाउनुको साथै १० विकेट लिनुभयो । तालतले सर्वोत्कृष्ट खेलाडी वापत पाँच लाख रुपैयाँ प्राप्त गर्नुहुनेछ । फार वेस्ट युनाइटेडका हश्मातुल्लाह शाहिदीले १० खेलमा ४ अर्धशतकसहित चार सय रन बनाउँदै बेस्ट ब्याटर चुनिनुभयो । उहाँले दुई लाख ५० हजार प्राप्त गर्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?