सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न उपप्रधानमन्त्रीको निर्देशन

Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा आज नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन मिलेर लाग्न भन्नुभएको छ । उहाँले कुनै पनि निकायले काम गर्दा सडक भत्केमा सडक विभागको गुणस्तर अनुसार आफैँले मर्मत गर्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सबै निकायले एकीकृतरुपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले कुन कहिले कुन निकायले भत्काउँदा जनता निरासा भएका छन्, त्यसको समाधान गर्नेगरी लाग्नुपर्छ ।”

उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । प्रत्येक महिनाको दोस्रो शुक्रबार र अन्तिम शुक्रबार २ बजे बैठक बस्ने तय भएको र पहिलो बैठक सडक विभागमा बस्ने निर्णय भएको छ । उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी स्थलगत अवलोकनका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि शुक्रबार भैँसेपाटी जम्मा भएर विभिन्न स्थानमा पुग्ने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?