बैतडीमा नवजात शिशुको मृत्युदरमा कमी आउन सकेन

गत वर्ष ५१ नवजात शिशुको मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 6 mins

बैतडी । बैतडीमा नवजात शिशुको मृत्युदरमा कमी आउन सकेको छैन । स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकअनुसार प्रत्येक वर्ष नवजात शिशुको मृत्युदर बढिरहेको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्रै १३२ नवजात शिशुको मृत्यु भएको हो । स्वास्थ्यका अन्य सूचकहरू सकारात्मक रूपमा अघि बढिरहेको अवस्थामा नवजात शिशुको मृत्युदर बढ्दो अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३३, २०७७/७८मा ४८ र २०७८/७९ मा ५१ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा तथ्यांक अधिकृत बिपिन लेखकले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा जिल्लाको पुर्चाैडी र मेलौली नगरपालिकामा सबैभन्दा बढी नवजात शिशुको मृत्यु भएको छ । पुर्चाैडीमा सबैभन्दा बढी १३ र त्यसपछि मेलौलीमा ११ नवजात शिशुको मृत्यु भएको हो । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा कुनै पनि नवजात शिशुको मृत्यु भएन । गत वर्षको विवरणअनुसार मृत्युदर शून्य छ । स्वास्थ्यका अन्य सूचकहरू सकारात्मक रहेको भए पनि नवजात शिशुको मृत्यु प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताउनुभयो । शिशु जन्मँदा कम तौलको बच्चा जन्मिने, निस्सासिनु, कुनै रोगको संक्रमण हुनु र कठ्यांग्रिनुलगायत कारणले नवजात शिशुको मृत्यु हुने आशंका गरिएको प्रमुख भट्टले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकता दिएको भए पनि नवजात शिशुको मृत्युदरमा कमी आउन सकेको छैन । ‘कतिपय ठाउँमा स्वास्थ्य संरचनाको अभाव, भएका स्वास्थ्य संस्थामा पनि दक्ष जनशक्ति र उपकरणको अभावले गर्दा नवजात शिशुको मृत्युदर बढिरहेको छ’ प्रमुख भट्टले भन्नुभयो । पोषण, स्वास्थ्य सेवाको पहुँचको कमी, स्वास्थ्य सस्थाहरूमा स्रोत साधनको अभाव लगायतका कारणले शिशु मृत्युदर बढेको पनि बताइन्छ । जिल्लामा खोलिएका बर्थिङ सेन्टर लगायतका स्वास्थ्य सस्थामा थपिएका कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रमहरू ल्याउन जरुरी रहेको प्रमुख भट्टले बताउनुभयो । ‘बर्थिङ सेन्टर धरै खोलिए, बथिङ सेन्टरमा उपकरण र दक्ष जनशक्तिको अभाव छ, समयमै जटिलता पहिचान भए पनि निदानका लागि व्यवस्था छैन, यी करणले मृत्युदर बढेको आँकलन गरिन्छ’ उहाँले भन्नुभयो ।

जन्मदेखि नै बच्चाको स्याहार सुसारमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । कम तौल भएको बच्चा जन्मिने गरेकाले पनि नवजात शिशुको ज्यान जोखिममा हुने गरेको सिगास गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख घनश्याम बोहराले बताउनुभयो । ‘बच्चा जन्मिएको समयमा न्यूनतम अढाइ किलो (२.५ किलो) तौल भएको हुनुपर्दछ, तर यहाँ कम तौल भएका बच्चा जन्मिने गरेका छन्, त्यसपछि उचित स्याहार नपाउनाले बच्चाको मृत्यु हुने गरेको छ’ बोहराले भन्नुभयो । कम तौलको बच्चा जन्मिएको अवस्थामा सितांग हुने र बच्चाको ज्यान जोखिममा हुने भएकाले न्यानो पार्ने र आमाले खानपानमा बढी ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

बैतडीमा सस्थागत सुत्केरी हुने महिलाको संख्यामा पनि गिरावट आएको छ । २०७६/७७ मा ६४ प्रतिशत २०७७/७८मा ८५ प्रतिशत रहेको संस्थागत सुत्केरी महिलाको दर २०७८/७९ घटेर ८२ प्रतिशतमा झरेको छ । स्वास्थ्यको क्षेत्रमा केही प्रभावकारी कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । २०७१ देखि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता घोषणा गरिने गरिएको छ । बालबालिकाहरूलाई दिनुपर्ने सबै प्रकारका खोपहरू लगाएर पूर्ण सुनिश्चितता घोषणा पलिका हुँदै जिल्लालाई समेत घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत बिपिन लेखकले जानकारी दिनुभयो ।

बैतडीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी गरेर १०४, प्राथमिक स्वास्थ्य केन्द्र २ र १ जिल्ला अस्पताल रहेको छ । यसैगरी, जिल्लामा १३५ बर्थिङ सेन्टरहरू रहेका छन् । जिल्लामा मेलौली नगरपालिका ३ बाहेक सबै वडामा स्वास्थ्य चौकीको स्थापना भई सेवा प्रवाह भइरहको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?