बैतडीमा औद्योगिक ग्रामको काम सुस्त

Read Time = 4 mins

बैतडी । बैतडीका दुई स्थानीय तहमा स्थापना गर्ने भनिएको औद्योगिक ग्रामको काम अलपत्र परेको छ । जिल्लाको मेलौली नगरपालिका ५ र पञ्चेश्वर गाउँपालिका ४ मा स्थापना हुने भनिएको औद्योगिक ग्रामको काम अलपत्र परेको हो । औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पर्ने सामान्य संरचनाबाहेक अन्य काम अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७६/०७७ मा आएको ७५ लाख बजेटले तीन किलोमिटर सडक निर्माण गरिएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो । सडकसँगै खानेपानीको व्यवस्था र आवश्यक संरचना निर्माणका लागि फिल्ड तयार भएको उहाँको भनाइ छ ।

उपाध्यक्ष भट्टले भन्नुभयो, ‘पहिलो वर्ष ७५ लाख बजेट आएको थियो, त्यो बजेटअनुसार काम गर्‍यौँ । त्यसपछि सरकारसँग थप बजेटका लागि माग गरिएको भए पनि बजेट आएन, संघीय सरकारबाट बजेट प्राप्त नहुँदा अघि बढ्न सकेन ।’ मेलौली नगरपालिकामा भने बजेट प्राप्त भएर पनि तीन वर्षसम्म कुनै काम अघि बढाउन सकेको छैन । नगरपालिकाको वडा नम्बर ५ को सामुदायिक वनमा छनोट गरिएको तर वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरिएकाले काम अघि नबढेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष वातावरणीय प्रभाव मूल्यांकन गरिरहेका छौँ, त्यसपछि निर्माण प्रक्रिया सुरु हुन्छ ।’ संघीय सरकारबाट बजेट प्राप्त भएर पनि विगतमा काम गर्न नसकेपछि यस वर्ष औद्योगिक ग्रामको काम सुरु गर्ने तयारीमा रहेको मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती विष्टले बताउनुभयो ।

औद्योगिक ग्राम निर्माण गर्न सके साना तथा मझौला उद्योग खोल्न सहज हुने पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा साना उद्योग स्थापनाका लागि थुप्रै सम्भावना छन्, चिउरी उद्योग, मसला उद्योग, खानेपानी प्रशोधनलगायतका उद्योगको थुप्रै सम्भावना छ ।’ स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने महत्वपूर्ण लक्ष्यसाथ निर्माणको सुरुवात गरेको औद्योगिक ग्राम अलपत्र अवस्थामा छोड्न नहुने मेलौली-५ का भुवन जोशी बताउनुहुन्छ । औद्योगिक ग्रामले व्यवसाय गरेर स्वरोजगार बन्ने युवाले राम्रो अवसरका रूपमा सदुपयोग गर्न सक्ने उहाँको भनाइ छ ।

औद्योगिक ग्रामका लागि पहाडी क्षेत्रमा ३५ रोपनी जग्गा आवश्यक पर्छ । औद्योगिक ग्राममा सडक पूर्वाधार, खानेपानी, बिजुलीलगायत साना उद्योग सञ्चालनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने हुन्छ । स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीप परिचालन गर्दै लघु, घरेलु तथा साना उद्योगमा लगानी गरी उद्योग सञ्चालन गर्ने लक्ष्य थियो । साथै सभाहल, क्यान्टिन, अग्नि नियन्त्रण केन्द्रलगायतका संरचना पनि निर्माण गर्ने भनिएको छ । सरकारले औद्योगिक ग्रामसम्बन्धी कार्यविधि २०७५ सालमा पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?