फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

Read Time = 5 mins

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हव अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

उहाँले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, हव अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिनुभयो । मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको र थप समन्वयका लागि तथा सहयोगका लागि पोखरास्थित अन्य मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि समन्वय गरिएको जनाएको छ ।

सहप्रवक्ता डा अधिकारीले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा एक प्रतिनिधि दुर्घटना स्थलमा आवश्यक समन्वयका लागि खटाइएको साथै उपचार तथा शव व्यवस्थापनका लागि हव तथा सेटेलाइट अस्पतालसँग समन्वय गरिएको बताउनुभयो । आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको ७२ जना सवार यती एयरलायन्सको विमान सेती नदीको खोचमा दुर्घटना हुँदा सवार ६८ निधन भएको पुष्टि भएको छ ।

विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

गृहमन्त्रालयमा आज साँझ भएको उक्त बैठकमा गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री लामिछानेले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शवपरीक्षण, बीमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका पीडित परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायतका काममा आवश्यक परामर्शलगायतका सहजीकरण गर्न सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ ।

सबै सरोकारवालाहरुले पीडित परिवार तथा मिडियामा सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । पहिले मृतकका परिवारलाई, दोस्रो विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन÷दूतावासलाई र तेस्रो सञ्चारकर्मीलाई सूचना प्रवाहमा सहजीकरण गर्न भनिएको छ ।

गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र शवपरीक्षण हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?