निर्मला पन्त प्रकरणमा पाँच जनाको डिएनए संकलन

हिमालय टाइम्स
Read Time = 5 mins

यज्ञराज जोशी/हिटा
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा थप पाँच जनाको डिएनए संकलन गरिएको छ । संकलित डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ । डिएनए परीक्षण काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिनेछ । डिआइजी दुर्गा सिंहको नेतृत्वमा गठन भएको छानबिन समितिले कञ्चनपुर पुगेर पाँच जनाको डिएनए संकलन गरेको हो । संकलित डिएनएमा दुईजना भारतीय किशोर पनि छन् ।

रवि लामिछाने गृहमन्त्रीमा नियुक्त भएलगत्तै निर्मला पन्तका हत्यारा पक्राउ आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो-सिआइबीमा कार्यरत डिआइजी सिंहको संयोजकत्वमा दुईजना मनोचिकित्सकसमेत रहने गरी छानबिन समिति गठन गरेको थियो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा हालसम्म एक सयभन्दा बढीको डिएनए परीक्षण भइसकेको छ । मृतक पन्तको भेजानल स्वाबमा भेटिएको डिएनए प्रोफाइलसँग म्याच नभएपछि यो घटना प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

२०७५ साउन ११ गते निर्मलाको शव स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो । पोस्टमार्टममा उहाँको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । साथीको घरबाट फर्कंदै गर्दा उहाँको हत्या भएको थियो । सिआइबी नेतृत्वको छानबिन टोलीले करिब एक महिनापछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रूपमा प्रस्तुत गरे पनि डिएनए नमिलेपछि उनीहरू छुटेका थिए । त्यसयता डिएनए मिल्ने व्यक्तिको खोजीमा रहेको प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको विज्ञ समितिले डिएनएको नमुना संकलनमै त्रुटि भएकाले डिएनए परीक्षणबाट अभियुक्त पत्ता लगाउन कठिन हुने औँल्याएको थियो । यद्यपि, प्रहरीले भने अहिलेसम्म शंकास्पदको डिएनए परीक्षण गराउँदै आएको छ । प्रहरीले अनुसन्धान गरिरहेकैबीच गृहमन्त्री लामिछानेले पुरानो फाइल खोल्ने घोषणा गरेपछि डिआइजी नेतृत्वमा समिति बनाइएको हो ।

छानबिन समिति संयोजक सिंहको सरुवा
यता, निर्मला पन्तको प्रकरण अनुसन्धान गरिरहेको छानबिन समितिकी संयोजक डिआइजी दुर्गा सिंहको सरुवा भएको छ । संयोजक सिंहको सरुवा भएपछि अनुसन्धानमा अन्योलता बढेको छ । सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा गरिएको छ । गृह मन्त्रालयले गत साता सिआइबीबाट सिंहको सरुवा गरेको हो । छानबिन सुरु गर्नुअघि समितिले हालसम्म यस घटनाको अनुसन्धानमा खटिएका अधिकृतलाई बोलाएर छलफल गरेको थियो ।

यसअघि, निर्मला हत्यालाई लिएर विभिन्न प्रतिवेदनसमेत बुझाइएको छ । तर, ती प्रतिवेदनले हत्यारा यही नै हो भनेर यकिन भन्न सकेको छैन । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरू तयार भएका थिए । तर, अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । न त यी प्रतिवेदनमाथि टेकेर प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेको छ । गृह मन्त्रालयबाट गठित मैनाली समितिको प्रतिवेदनले निर्मला पन्तको बलात्कार एकजना व्यक्तिबाट सम्भावना कम देखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निष्कर्ष निकालेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?