सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालयको भागबन्डा, मन्त्रीहरूको शपथ आजै गराउने तयारी

एमालेले आठ, माओवादीले चार, रास्वपा र राप्रपाले तीन-तीन मन्त्रालय पाउने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताउनुभयो । उहाँका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । यद्यपि कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारेमा भने उहाँले केही खुलाउनुभएन । गृहमन्त्री लामिछानेले मंगलबार १ बजेभन्दा अघि अहिलेको सहमति परिवर्तन पनि हुन सक्ने बताउनुभयो । ‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । मंगलबार एक बजेअघि टुंग्याउँछौ ।’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धन दलहरूबीच पाँच घन्टा लामो बैठकले नेकपा एमालेलाई आठ, माओवादीलाई चार र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन-तीन मन्त्री र एक-एक राज्यमन्त्री दिने सहमति गरेको छ । त्यस्तै जनमत पार्टीले पनि एक मन्त्री पाउने भएको छ । यही सहमतिका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिने उहाँले जानकारी दिनुभयो ।

स्रोतका अनुसार एमालेले परराष्ट्र,स्वास्थ्य,रक्षा,कृषि,भुमि व्यवस्था,उद्योग र महिला बालवालिका मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय मंगलवार विहानसम्म तलमाथि हुने बताइएको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । राप्रपाले उर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको उच्च स्रोतले जनाएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री र उर्जासहित सरकारमा सहभागी हुनुहुने भएको छ । बाँकी दुई मन्त्रीको टुंगो पार्टीले मंगलबार लगाउने भएको छ ।

त्यस्तै, रास्वपाले पनि उपप्रधानमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सो पार्टीबाट उप सहित गृहमन्त्री रवि लामिछाने सरकारमा गइसक्नुभएको छ । अब सो पार्टीले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ ।

जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भए पनि उनीहरुको डिमान्डले गर्दा दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ । गृहमन्त्री रवि लामिछानेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई समझदारीमा ल्याउन र अन्यलाई समेट्न केही संख्या हेरफेर हुनसक्ने बताउनुभयो । ‘मंगलबार १ बजे मन्त्रीहरूको शपथ छ । हामीले राष्ट्रपति कार्यालयमा जानकारी पठाइसकेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यसअघि केही हेरफेर हुनसक्छ ।’ शपथपछि चार बजे सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । बालुवाटार बैठकअघि प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गर्नुभएको थियो । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिनुभएका प्रचण्डले २२ दिनपछि मन्त्रिपरिषदलाइ पूर्णता दिन लाग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?