सुर्खेतमा इजाजतविनै क्रसर उद्योग सञ्चालनमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

सुर्खेत । सुर्खेतमा इजाजत विनानै क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ । पटक, पटक बन्द गर्न आग्रह गर्दा पनि अटेरी गरेको पालिकाले जनाएका छन् ।

लेकवेशी नगरपालिका १, ८ र ९ मा तीन वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालन गरिएको पाइएको छ । अनुमगनपछि मापदण्डविपरीत सञ्चालन भएका तथ्य सार्वजनिक भएको हो  । वडा नं १ मा सञ्चालित भेरी बालुवा प्रशोधन उद्योग, वडा नं ८ मा रहेको पञ्चकोशी बालुवा प्रशोधन उद्योग  र  वडा नं ९ मा रहेको देउती बालुवा प्रशोधन उद्योगको अनुमगनपछि अबैध भएको तथ्य सार्वजानिक भएको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताउनुभयाे   ।

उद्योगहरूलाई अघिल्लो पटक पनि अनुगमन गरी बन्द गर्न भनिएको भएपनि अटेर गर्दै आएको उहाँले बताउनुभयाे  । सुर्खेतमा ११ वटा इजाजत विनै सञ्चालनमा आएका उद्योगहरू रहेको पाइएको छ  । अघिल्ला वर्षहरूमा कारबाहीको सिफारिसमा परेका र दर्ता भएका उद्योगहरूको विवरणको खोजीमा समन्वय समिति लागेको सुनारले बताउनुभयाे ।

लेकवेशीमा भने नगरपालिकाले पटक-पटक सचेत गर्दासमेत क्रसर उद्योगहरूले अटेरी गरेको नगर प्रमुख उमेशकुमार पौडेल बताउनुभयाे । दिनमा उद्योग बन्द गरेजस्तो गर्ने र रातीमा सञ्चालन गर्ने गरिएको भन्दै पौडेलले प्रशासनलाई यसबारे धेरै पटक जानकारी गराइएको बताउनुभयाे । पालिकासँग अनुगमन तथा नियमनको उचित किसिमको संयन्त्र नहुदा कारबाही प्रक्रिया अघि बढाउनसमेत चुनौती रहेको उहाँको भनाइ छ ।

लेकवेशीमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका उद्योगहरूले रातीको समयमा ढुङ्गा, गिट्टीहरूको लुकीछिपी उत्खनन् तथा प्रशोधन गरिरहेको नगरपालिकाले जनाएको छ ।

बराहताल गाउँपालिका-२ थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजत विनै सञ्चालनमा रहेका छन् । अवैध उद्योगको सञ्चालनले कटान क्षेत्र भेरी नदी किनारको बस्ती थप जोखिममा छ । नियमविपरीत सञ्चालनमा आएका उद्योग बन्द गर्न भनिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयाे ।

इजाजत नलिएर चलाएका उद्योगलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयाे ।  जिल्लाभर अवैध तरिकाले सञ्चालनमा रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने र अनुगमनको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । आधिकारिक उद्योग सञ्चालक अनुगमनको क्रममा नभेटिएकाले सम्पर्कमा ल्याउनका लागि आवश्यक प्रक्रियाको थालनी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?