पोखरा विमान दुर्घटनाः २५ शव काठमाडौँ ल्याइयो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकोप्टर अवतरण गर्ने तयारी गरिएपनि त्यहाँ हुन नसकेपछि पुनः विमानस्थलमा अवतरण भएको छ ।

विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताउनुभयो । थप शव लिन सोही हेलिकोप्टर पोखरा जानेछ । दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले जनाएकाे छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?