सिंजाद्वारा प्राविधिक कर्मचारीलाई ३५ प्रतिशत थप सेवा सुविधा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिकाभित्रका कार्यरत इञ्जिनियरतर्फका प्राविधिक कर्मचारीलाई आन्तरिक स्रोतबाट थप ३५ प्रतिशत सेवा सुविधा (सहुलियत भत्ता) दिने भएको छ । नेपाल सरकाको प्रचलित तलब स्केलअनुसार स्थायी तथा अस्थायी प्राविधिक कर्मचारीको सेवा सुविधामाथि गाउँपालिकाले थप ३५ प्रतिशत दिने निर्णय गाउँ कार्यापालिकाबाट पारित भई कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । ‘प्रशासन र अन्य शाखामा कार्यरत कर्मचारीलाई यो व्यवस्था गरेको छैन,’ अध्यक्ष धितालले भन्नुभयो । विशेषरी प्राविधिक कर्मचारीको कार्यालयमा थप काम हुनेदेखि फिल्डमै काम गर्ने भएकाले प्राविधिक कर्मचारीलाई पालिकाको आन्तरिक स्रोतबाट थप सेवा सुविधाको व्यवस्था गरेको अध्यक्ष धितालको भनाइ छ ।

प्राविधिक कर्मचारीको समस्या र उनीहरूको मागअनुसार पालिकाले उक्त व्यवस्था लागू गरेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो । पालिकाको आन्तरिक स्रोत जुटाउनका लागि बालुवा गिट्टीको टेण्डर भई काम सञ्चालनमा आएको छ । यो आर्थिक वर्षमा आन्तरिक राजस्व स्रोत १ करोड ६० लाख उठाउने लक्ष्य पालिकाले लिएको छ । अहिलेसम्म करिब ८ लाखमाथि राजस्व उठिसकेको छ । आन्तरिक स्रोत बढाउन सिंजा गाउँपालिका लागिपरेको प्रमुख प्रशासकीय अधिकृत धितालले बताउनुभयो ।

गाउँपालिकाले गरेको निर्णय स्वागतयोग्य भएको सिंजा गाउँपालिकाका इञ्जिनियर राजकुमार भट्टले जानकारी दिनुभयो । अहिले सो गाउँपालिकामा एक इञ्जिनियरसहित दशजना प्राविधिक कर्मचारी कार्यरत रहेको इञ्जिनियर भट्टले बताउनुभयो । दशजनाको स्थायी दरबन्दी भएकोमा छजना स्थायी र चारजना अस्थायी प्राविधिकले काम गर्दै आएको सिंजा गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?