सुदूरमाथि कोशीको सानदार जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको सानदार जित हात पारेको छ । जितको लागि ८३ रनको लक्ष्य पाएको कोशीले १५.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेटायो । कोशीको जितमा काजोल श्रेष्ठ ५० बलमा ५ चौकासहित ४० रन तथा कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा २ चौकासहित २८ रन बनाउनुभयो । सुदूरका लागि कविता जोशीले एक विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले १८.५ ओभरमा सवै विकेट गुमाएर ८२ रनमात्रै बनाउँन सकेको थियो । सुदूरका लागि कप्तान विन्दु रावलले ३० रन जोड्नुभयो । उहाँले ४५ बलमा ३ चौका प्रहार गर्नुभयो ।

यस्तै सम्झना खड्का १६, कविता कुँवर ९ र रुबी पोदार ४ रनमा आउट हुनुभयो । कविता जोशी, लक्ष्मी साउद, यसोदा विष्ट, रेवती धामी र मनिषा चौधरीले खाता खोल्न सक्नुभएन । कोशीको रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ तथा अप्सरी बेगमले २.५ ओभरमा १० रन खर्चेर ३ विकेट लिनुभयो ।

सुदूर चार खेलमा दुईमा जित र दुई मा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ । कोशी तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ तेस्रो स्थानमा छ । मंगलबार कोशी र मधेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा कोशी विजयी भएमा फाइनलमा पुग्नेछ ।
तर पराजित भएमा तीन टोलीको समान चार अंक हुँदा नेटरनरेटमा निर्भर हुनेछ । नेटरनरेटमा सुदूर फाइनलमा पुग्ने देखिन्छ । मधेश तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ चौथो स्थानमा छ । ललितपुर तीन खेलमा जित विहीन हुँदै बाहिरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?