नेसनल लाइफको लाभांश पारित

Read Time = 2 mins

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५औँ वार्षिक साधारणसभा सोमबार कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको सबै वित्तीय सूचांक उत्साहप्रद रहेको जनाएको छ । कम्पनीको कुल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई १,४४०.७६ करोड पुगेको छ ।

जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई ५,०८०.४२ करोड पुगेको छ । कुल लगानी १९.८५ प्रतिशतले वृद्धि भई ४,७०३.९२ करोड पुगेको छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ । उक्त आव २०७८÷०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको कम्पनीले जनाएको छ । नियामक निकायबाट जारी भएको लगानी निर्देशिकाअनुरूप कम्पनीले घरजग्गा व्यवसाय र जलविद्युत्मा लगानी बढाउने भएको छ ।

साथै कम्पनीको नेपालगञ्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा आव २०८०/०८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइएको पनि कम्पनीले जनाएको छ । साधारणसभाले आव २०७८/०७९ का लागि अद्यावधिक चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनका लागि एक करोड ९५ लाख ३८ हजार छ सय ६१ रुपैयाँ लाभांश पारित गरेको छ । उक्त लाभांशका अतिरिक्त चुक्ता पुँजीमा ६.५ प्रतिशत दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?