ल्होसार र श्रीपञ्चमी

Read Time = 6 mins

✍️ इन्द्रबहादुर शाक्य

सोनाम ल्होसार पर्व :
माघ कृष्णपक्ष प्रतिपदाको दिनमा सोनम ल्होसार पर्व मनाइन्छ । हरेक वर्ष यस दिनमा नेपालमा तामाङ समुदायले अथवा जातिले नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउँदछन् । उनीहरूको यो साल फेरिने दिन हो ।

यस वर्ष २८५८ सम्वत भयो । यो पनि नेपाल राष्ट्रको पुरानो सम्वत् हो । यो सम्वत् पशुपक्षीको नामबाट १२ महिनाको नाम राखिएको हुन्छ । यस पात्रोबाट तिथिमिति हेरेर वर्षभरिको चाडपर्व सुरु गरिएको हुन्छ ।

यो नयाँ वर्षमा तामाङ जातिले देवतालाई पूजा गरी विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदछन् । उनीहरू तामाङ भेषभूषा बाजागाजा, खानाको प्रकार बनाएर खाने र पछि कला नृत्य प्रस्तुत गर्नेगर्छन् । अधिराज्यभरिे नै हर्षोल्लासका साथमा यो नयाँ वर्ष नयाँ सम्वत् फेर्ने पर्व मनाइन्छ । उनीहरू यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउँछन् ।

श्रीपञ्चमी :
नेपाल अधिराज्यभरि श्रीपञ्चमीको दिनमा सरस्वतीको पूजा गरी मनाइन्छ । यस दिनमा सरस्वतीको आराधना गरी व्रत पनि बस्ने चलन छ । सरस्वती भन्ने विद्याका माता अथवा देवी हुन् । भगवतीले रक्षा गरे लक्ष्मीले धन दिने भने जस्तै सरस्वतीले विद्या ज्ञान दिने विश्वास गरिन्छ । त्यसैले हामीलाई शिक्षा, ज्ञान दिने माता भएकाले श्रीपञ्चमीको दिन उनको पूजा गरिन्छ । यस दिन सरस्वतीको पूजा गरी भोज खाने चलन पनि छ । तराई क्षेत्रमा सरस्वतीको मूर्ति बनाएर पूजा गरिन्छ । पूर्वदेखि पश्चिमसम्म यो पर्व मनाइन्छ ।

माघ महिनाको श्रीपञ्चमी अथवा वसन्त पञ्चमीको दिनमा विवाह गर्दा साइत हेर्नु पर्दैन । यस दिनमा धेरै विवाह हुन्छन् । यस दिनलाई सरस्वती जयन्ती पनि भन्दछन् ।

उपत्यकाभित्र काठमाडौंको स्वयम्भूमा रहेको मन्जुश्रीको मन्दिरमा बिहानदेखि बेलुकासम्म पूजा गरिन्छ । त्यहाँ विद्यार्थीहरूले विद्याकी देवी भनेर पूजा गर्छन् । यो मन्दिरमा मन्जुश्रीका पाउ मानेर पूजा गरिन्छ । ललितपुरको लेले गाउँमा सरस्वती कुण्डमा पनि मेला लाग्छ र विद्याको देवी सरस्वतीलाई पूजा गरिन्छ । सरस्वतीले लेले डाँडाबाट स्वयम्भूको दर्शन गरेको थिइन् र सरस्वती कुण्डमा जल लिएर अघ्र्य दिएको थियो भने जनविश्वास छ । यो पर्व मनाउनका लागि अहिले राजमार्गमा मोटर रोकी चन्दा उठाउँछन् । माटाको मूर्ति बनाएर पूजा गरिसकेपछि नदीमा विसर्जन गर्छन् ।

वसन्त पञ्चमी ऋतुराज वसन्तको स्वागत तथा विद्याकी देवी सरस्वती माता अथवा मञ्जुश्री देवताको पूजाको रूपमा श्री पञ्चमी पर्व मनाइन्छ । यो श्रीपञ्चमी अथवा वसन्त पञ्चमी सुरुवात भएपछि रूख, बिरुवामा नयाँ पालुवा पलाउने र मानिसको मानसिक प्रवृत्तिमा पनि परिवर्तन आउने भएकाले यस अवसरमा वसन्त उत्सव पर्व मनाउने चलन रहेको बुझिन्छ । यो निकै पुरानो पर्व हो । यस पर्वलाई प्रकृतिले पनि मान्ने गरेको छ । नेपालमा पनि यो उहिले सत्ययुग र त्रेतायुगदेखि चलेर आएको देखिन्छ । नेपालमा जनक राजाका पालामा यो वसन्त पञ्चमी चलिसकेको थियो । त्यतिबेला जनक राजाले पनि मनाएका थिए । त्यतिबेलादेखि मनाएको पर्व अहिलेसम्म पनि मनाइँदै छ । अहिले हनुमानढोकामा वसन्त श्रवण गराइन्छ । वसन्तको राग गाउने परम्परा अहिलेसम्म पनि छँदैछ । यहाँ पहिले राजा र अहिले राष्ट्रपतिको सवारी हुन्छ ।

माघ महिनाको श्रीपञ्चमी अथवा वसन्तपञ्चमीको दिनमा विवाह गर्दा साइत हेर्नु पर्दैन । यस दिनमा धेरै विवाह हुन्छन् । यस दिनलाई सरस्वती जयन्ती पनि भन्दछन् । विद्यार्थीहरू ज्ञान पाउनका लागि सरस्वती मन्दिरमा पूजा गर्ने तथा व्रत बस्ने गर्दछन् । साथै यस दिनलाई वसन्त ऋतुको आगमन वा सुरुवातको दिन पनि मानिन्छ । श्रीपञ्चमीका दिनमा गुरुङ जातिले प्रकृतिदेवी पृथ्वीलाई पूजा गरी धुमधामसँग पर्व मनाउँदछ । वसन्तको सुरुवात भएको दिन भनेर यो पर्व मनाइने गरिन्छ । बालबच्चालाई अक्षरारम्भ पनि यस दिनबाट गरिन्छ भने बच्चाहरूको नाक कान छेड्नका लागि पनि श्रीपञ्चमीलाई शुभ मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?