सीके राउतले संसदमा संसदीय मर्यादा र नियम विपरित मौन धारण गर्न लगाएको उपप्रधानमन्त्री लिङदेनकाे दावी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गर्नु भएको छ ।

मधेशका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाउनु भएको थियो । त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पार्नु भयो ।

उहाँले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका लिङदेनले आफूहरुले सो क्रममा सहीदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेशका सहीदहरुका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठने र नउठनेको विषय बाहिर प्रचारमा आईरहेको छ । सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो । उहाँको उपप्रधानमन्त्री म थिए । हामी उठेनौं । यसको अर्थ बाहिर के गईरहेको छ भने कि हामीले मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने सहीदहरुका प्रति हाम्रो चाँही सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ । तर संसदको एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनभने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोडदैन । कि त त्यो विषय सभामुखले रुलिङ गर्नु प¥यो । कि मेरो प्रधानमन्त्री उठनु प¥यो । त्यसकारण हामीले यो भ्रम नरहोस् । हामीले त्यो विषयप्रति अनादर गरेको होइन । मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन । यसरी गलत प्रचार जानु हुँदैन । हामीले संसदीय मर्यादा भंग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसदले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु । म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढंगले गलत कुरा लैजान पाईदैन ।’

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकीर समेत गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?