प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

इटहरी । प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्यिन बनेको हो । जितका लागि १०२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टायो । जितका लागि अन्तिम ६ बलमा आठ रन चाहिएका बेला दोस्रो बलमा कविता जोशीले प्रदेश १ की कप्तान रुविना क्षेत्रीलाई लङअफमा छक्का प्रहार गर्नुभएको थियो । पाँचै बलमा उहाँले विजयी रन बटुल्नुभयो ।

कविताले २० बलमा एक चौका र एक छक्कासहित १९ रन जोड्नुभयो । त्यसबाहेक सम्झना खड्का ३३ बलमा दुई चौकासहित २७ रनमा अविजित रहनुभयो । सुदूरका लागि डली भट्टले १६ बलमा एक चौका र दुई छक्कासहित २२, विन्दु रावल सात, कविता कुँवर १२ र रुवि पोदारले आठ रन जोड्नुभएको थियो ।

प्रदेश १ का लागि लागि सबनम राई, रुविना क्षेत्री, संगीता राई र हिरन्मई रायले एक-एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि ओपनर काजल श्रेष्ठले ६३ बलमा आठ चौकासहित सर्वाधिक ४८ रन बनाउनुभयो ।

यस्तै, कप्तान रुविना क्षेत्री २५ बलमा एक चौकासहित १४, अप्सरी बेगमले २० बलमा दुई चौकासहित १५, लखिता राजवंशीले चार र स्मृति कटुवालले तीन रन बनाउनुभयो । सुदूरका लागि मनिषा चौधरीले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिनुभयो । त्यसबाहेक ऋतु कनोजियाले चार ओभरमा आठ रन खर्चेर एक विकेट हात पार्नुभयो ।

प्रतियोगिता विजेता सुदूरले पाँच लाख र उपविजेता टोली प्रदेश १ ले तीन लाख प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमकी तीव्र गतिकी बलर कविता कुँवरले स्कुटरसँगै प्रमुख दुई अवार्ड जित्नुभएको छ । भविष्यको स्टारका रूपमा उहाँले स्कुटर जित्नुभएको हो । त्यसबाहेक उहाँले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेबापत ३० हजार र उत्कृष्ट ब्याटर बनेबापत २० हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

कविताले पाँच खेलमा चार इनिङमा ब्याटिङ गर्दै दुई अर्धशतकका साथ १३४ रन बनाउनुभएको थियो । बलिङतर्फ १६ ओभरमा चार मेडन राख्दै ६७ रन खर्चेर दुई विकेट लिनुभएको थियो ।

सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिताको उत्कृष्ट बलर चुनिनुभयो । उहाँले पाँच खेलमा २० ओभर बलिङ गर्दै ७८ रन खर्चेर ११ विकेट लिनुभएको थियो । उहाँले २० हजार नगद प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?