जनप्रतिनिधिकै मिलेमतोमा जथाभावी माटो उत्खनन्, सम्झौता नगरी योजना सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

सिरहा । जनप्रतिनिधिसँगको मिलेमतोमा अवैधरूपमा माटो उत्खनन् गर्ने दुईवटा ट्रक र एउटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा गोलबजार नगरपालिका-७ चोहर्वास्थित सामुदायिक भवनछेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभूत विद्यालय कदिमाटोल नजिकैबाट अवैधरूपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा १ क ७३२९ नम्बरको डोजर र ना २ क ९ नम्बरको ट्रक र ज १ क ४९४ नम्बरको अर्काे डोजर नियन्त्रणमा लिएको हो । माटो उत्खनन्का कारण विद्यालय जोखिममा परेको स्थानीयको भनाइ छ । सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिरो जाने अवस्थामा पुगेको स्थानीय युवाको भनाइ छ ।

नगरकै योजनाको काममा प्रयोग भइरहेको माटो अवैधरूपमा उत्खनन् हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् । यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजस्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महँगोको बिल हाल्न पाउने सुविधा पनि रहन्छ । वडाध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन, नजिकै भेटेकाले ल्याएछ ।’

नगरपालिकाको श्रममूलक कार्यक्रम निर्माण कार्य (एलआइपी) कार्यक्रमअन्तर्गत गोलबजार नपा-७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ ।

अधुरो सामुदायिक भवन फिनिसिङका लागि उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता नै नगरी काम सुरु गरेको छ । गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुने पनि आधिकारिकरूपमा फाइल आइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फाइल नै आएको छैन, फाइल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ ?’ भन्दै उहाँले उल्टै प्रतिप्रश्न गर्नुभयो ।

वडाध्यक्ष हरिशरण ठाकुरले केही दिन पहिला सर्वदलीय, सर्वपक्षीय बैठक बसेर समिति गठन गरे पनि अझै आधिकारिक जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठकबाट समिति गठन भइसकेको छ, समितिमा को–को छन् भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?