अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशमा हुने गरेको अनियमितताको विवरण सार्वजनिक गरेको छ । त्यो विवरण आफैंमा वर्तमान नेपालको तस्वीर हो भन्ने हाम्रो बुझाइ छ । जति शून्यसहनशीलता भने पनि र जति नीति, नियम बनाए पनि भ्रष्टाचारमुक्त समाजको कल्पनै गर्न सकिएन । भ्रष्टाचारमा पढालिखा सरकारी कर्मचारी र राजनीतिक व्यक्तिहरू नै प्रमुख रूपमा लपेटिन पुग्ने गरेका छन् । यसबाहेकको अरू वर्गको पनि भ्रष्टाचारमा संलग्नता त पाइएला तर यस्ता अन्य वर्गलाई भ्रष्टाचारको मूल धारमा समाहित गर्ने काम कि कर्मचारीहरूबाटै हुन पुग्छ कि राजनीतिज्ञहरूबाट ।
मजदुर, किसान, अनपढ कोही पनि बुझेर आर्थिक वा अन्य खाले भ्रष्टाचारको खेतीमा लाग्दैन । आचरणगत प्रश्न भने सबैका लागि समान हुनसक्छ । अहिले भ्रष्टाचारमा संलग्न हुने वर्गमा मूल रूपमा कर्मचारीहरू नै देखिन आएका छन् । अख्तियारले संकलन गरेको तथ्यलाई हेर्ने हो भने यही पुष्टि हुन आउँछ । सरकारी जागिर खानका लागि निजामती सेवामा प्रवेश गर्नु नै भ्रष्टाचारका लागि लाइसेन्स लिनु हो भन्ने मान्यता नेपाली जनमानसमा स्थापित बन्दै आएको छ । हाम्रो मूल समस्या भनेकै यही हो । समाजले समेत यस प्रवृत्तिलाई गौरवपूर्ण अनुभव गरिरहेको देखिन्छ । छिमेकको कुनै कर्मचारी सँधियारले गाडी किन्यो, विशाल आकारको घर बनायो, सन्तानलाई सबैभन्दा महँगो विद्यालयमा भर्ना गर्याे भने समाजले त्यसलाई प्रगतिका रूपमा हेर्ने गरेको छ । त्यो सबैको आधार के होला भनेर खोज्ने काम गर्दैन ।
अर्कोतर्फ हेर्ने हो भने निजामती सेवा भनेको सरकारलाई काममा सघाउ पुर्याउन व्यवस्था गरिएको कर्मचारीतन्त्र हो । यो अति नै सम्मानित क्षेत्र हो तर पहिलेदेखि नै विकसित बन्दै आएको बद्नियतपूर्ण मानसिकताले गर्दा यो क्षेत्रप्रति आमरूपमा सकारात्मक सोच विकास हुन सकेको छैन । कर्मचारीतन्त्रभित्र राम्रा र सच्चरित्रवान व्यक्तिहरू पनि पर्याप्त छन् । केही थोरै व्यक्तिहरूबाट हुने गरेका कमीकमजोरीका कारण सिंगो कर्मचारीतन्त्र नै बद्नाम बन्न पुगेको छ । अहिले भन्दा साढे दुई शताब्दी पहिले पनि हाम्रो समाज यस्तै थियो भन्ने आधार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘घुस लिन्या र घुस दिन्या मानिस राष्ट्रका शत्रुर हुन्, यस्ताको जिउ ज्यान गरे पनि कमै हुन्छ’ भन्ने भनाइबाट पुष्टि हुन्छ ।
त्यसभन्दा पछिको समय हो आदिकवि भानुभक्त आचार्यको । त्यस बेलाको नियमकानुन कडा थियो । भानुभक्त परिपक्व उमेरको हुँदासम्ममा नेपालमा राणा शासनको सुरुवात भइसकेको थियो । बाबुलाई लागेको भ्रष्टाचारको अभियोगमा छोरा भानुभक्तले जेल सजाय भोग्नुप¥यो तर त्यस मुद्दाको र उनका छिमेकी गिरिधारी भाटसँगको मुद्दाका क्रममा कर्मचारीहरूले भोलि भोलि भनेर टार्न पन्साउन खोजेको सन्दर्भ उनका कविताहरूमा उल्लेख भएको छ । उनले कवितामै यसको जानकारी जंगबहादुरका भाइ कृष्णबहादुर राणालाई गराएपछि मात्र उनको मुद्दा फैसला भएको थियो र उनले जितेका थिए । यसबाट यो ढिलासुस्ती, अनियमितता, कामचोर प्रवृत्ति, भ्रष्टाचार उहिलेको समाजमा पनि रहेछ भन्ने थाहा हुन्छ ।
अहिले यसको स्वरूप बदलिएको छ, प्रकृति बदिलिएको छ मात्रा र घुस लिने दिने वस्तु वा सामग्री फेरिएका छन् तर प्रथा उही छ उस्तै छ पृथ्वीनारायण शाह र भानुभक्तका पालामा भन्दा कम भएर गएको छैन बरू अझै धेरै गुनाले फष्टाउँदै गएको छ । यही नै हो हाम्रो विडम्बना । यसले न देशको र समाजको इज्जत जोगाउन सकेको छ न त राष्ट्रिय विकास निर्माणमा खर्च हुने गरेको रकम त्यसका लागि उपयोग हुन सकेको छ । राजनीतिज्ञहरू अस्थायी स्वरूपका हुने भएको हुँदा ती त आउँछन् जान्छन् तर कर्मचारी स्थायी हुन्छन् र लामो समयसम्म एकै ठाउँमा रहिरहन्छन् । यही कारण तिनलाई रकम कलमको स्रोत, परिचालन गर्ने शैली, सहयोग लिनुपर्ने मानिसहरू, खर्चको विवरण तयार पार्ने नियमकानुन आदि विभिन्न कुराको जानकारी हुन्छ । राजनीति गर्ने मानिसलाई यस्ता सबै विषयको जानकारी हुँदैन । एक कार्यकाल जितेको व्यक्तिलाई अर्को कार्यकालका लागि टिकट पाउने र जित्ने कुराको ग्यारेन्टी हुँदैन । त्यसैले उसले आफ्नो छोटो कार्यकालमा सकेसम्म बढी भ्रष्टाचार गर्ने नियत राखेका हुन्छ । यसका लागि कर्मचारीलाई गोटी बनाउने गरिन्छ । कर्मचारीहरू पनि यसरी राजनीतिज्ञहरूसँग मिलेर केही आर्जन गर्न पाइने लोभमा यस्ता कृत्यप्रति आकृष्ट बन्नपुग्छन् । लोमो समयसम्म सेवामा रहिरहनुपर्ने यो वर्ग अन्ततः उसका यस्ता कमीकमजोरीहरू बाहिर आएर भ्रष्टाचारको आरोपमा अधिकार प्राप्त निकाय अथवा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा फस्न पुग्छन् ।
घुस खाने वा भ्रष्टाचार गर्ने वर्ग कर्मचारी र राजनीतिज्ञमात्र होइन अन्य वर्गहरू पनि हुनसक्छन् तर ती वर्ग भने कर्मचारी र राजनीतिज्ञहरूसँग गाँसिएर मात्र आउँछन् आफैं एक्लै आउँदैनन् । तिनलाई अनियमितता गर्न पनि राजनीतिज्ञ र कर्मचारी वर्गले नै सिकाएको हुन्छ । विशेषगरी विभिन्न आयोजना वा विकास निर्माणका कार्यमा जिम्मेवारी लिने ठेकदारहरू यस खालका ठूला अनियमिततामा संलग्न हुने गरेका छन् । तिनलाई यस्ता कार्यमा दुरुत्साहन गर्ने वर्ग चाहिँ मूल रूपमा कर्मचारी वर्ग नै हो । अख्तियारले निकालेको तथ्यांकले पनि यही कुरालाई पुष्टि गरेको छ । यस्ता कार्यमा संलग्न नभई कर्मचारी वर्ग निष्कलंक बन्नसक्ने हो भने समग्र भ्रष्टाचारमा कमी आउन सक्छ । जसका लागि तिनले राजनीतिज्ञको अनावश्यक दबाबलाई निर्भीकता र निर्भयताका साथ सामना गर्न सक्नुपर्छ । कर्णाली प्रदेशको भ्रष्टाचार विवरणले बाँकी क्षेत्रलाई समेत ऐना देखाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच