काठमाडौंमा उच्च प्रदूषण

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडाैं । मौसम धुम्मिएसँगै काठमाडौंमा वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । स्विट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आइक्युएअरका अनुसार बुधबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ ।

आइक्युएअरका अनुसार काठमाडौंको वायुमण्डलमा बुधबार साँझ ८ बजे एअर क्वालिटी इन्डेक्स (एक्युआई) १६२ पुगेको छ । विश्वका १०० शहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं दोस्रो नम्बरमा रहेको देखिएको हो । पहिलो नम्बरमा चीनको बेइजिङ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथोमा मेक्सिको सिटी, पाँचौँमा भारतको कोलकत्ता, छैटौँमा बंगलादेशको ढाका, सातौँमा भियतनामको हनोई छ ।

प्रदूषणका कारण सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् । वातावरणविद् भूषण तुलाधर वायु प्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउनुहुन्छ । उहाँ वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको बताउनुहुन्छ । ‘वायुमा हुने दूषित कण श्वासप्रश्वासमार्फत सुरुमा फोक्सोमा पुग्ने भएकाले यसमा बढी असर देखिन्छ,’ तुलाधरले भन्नुभयो, ‘अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ । तर, मृत्युतर्फ हेर्ने हो भने चाहिँ सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ ।’

वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पिएम १० र पिएम २.५ को मापदण्डमा जाँचिन्छ । पिएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरूसँग सम्बन्धित छ भने पिएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरूसँग सम्बन्धित छ ।

अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च छ । विज्ञहरूका अनुसार बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको बिकारको पदार्थ कार्बनडाइ अक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ । पिएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् ।

यी ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले रक्तचाप बढाउँछ । रक्तचाप बढेपछि सामान्य अवस्थामा भन्दा प्रदूषणयुक्त ठाउँमा बसेको मान्छेमा हृदयाघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ । यसरी वायु प्रदूषणले नै स्ट्रोक र हृदयाघातको समेत प्रचुर सम्भावना बढाइदिन्छ ।

काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धुलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धुवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धुवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

वायु प्रदूषण भएको कसरी थाहा हुन्छ ?

यसका लागि विभिन्न सूचकको सहायता लिने गरिन्छ । जस्तोः पिएम टु पोइन्ट फाइभमा वायु प्रदूषणको मात्रा ‘माइक्रोग्राम प्रतिघनमिटर’ एकाइमा मापन गर्ने गरिन्छ । यसको औसत एकाइ २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । यदि त्योभन्दा कम भए हावा स्वस्थ हुने र बढी भए प्रदूषित हुने वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउनुभयो । त्यस्तै, पिएम टेनले १० माइक्रोनभन्दा साना धुलोका कणको जाँच गर्छ । पिएम टेनले २४ घण्टामा औसत १२० माइक्रोग्राम प्रतिघनमिटर भन्दा एकाइ देखाए हावा स्वस्थ्य हुने र बढी देखाए प्रदूषित हुने उहाँकोे भनाइ छ ।

वायु प्रदूषणको जाँच कसरी गरिन्छ ?

यी सबै जाँच गर्न लाइट स्क्याटरिङ विधि प्रयोग गर्ने गरिन्छ । वायु गुणस्तर मापन केन्द्रमा मेजरमेन्ट चेम्बर (स्पेक्ट्रोमिटर), लेजर, रिसिभर लगायतका उपकरण हुन्छन् । वायु प्रदूषण जाँचका लागि मेजरमेन्ट चेम्बरमा धुलो सहितको हावा छिराइन्छ । त्यहाँ हावामा भएका धुलोका कणहरूले लेजर (प्रकाश)लाई स्क्याटरिङ गर्ने गर्छ । सामान्य भाषामा बुझ्दा त्यस चेम्बरले हावामा भएका धुलोका कणको फोटो खिच्छ । र, हावामा कति धुलो छ, कत्रा छन् भनेर मापन गर्छ ।

त्यसपछि त्यसैको आधारमा वजन निकाल्छ । र त्यसलाई हिसाब गरेर डेटा तयार पार्ने काम गर्छ । यसरी वायु गुणस्तर मापन केन्द्रमा वायु प्रदूषणबारे प्रत्येक मिनेटमा डेटा तयार हुने वातावरण निरीक्षक लामिछाने बताउनुहुन्छ । त्योसँगै २४ घण्टाको औसत निकालिने पनि उहाँले उल्लेख गर्नुभयो, जुन हामी सबैले वेबसाइटमा हेर्न सक्छौँ । वेबसाइटमा वायु प्रदूषणको अवस्था देखाउन विभिन्न रङको प्रयोग गरिएको छ । त्यस्तै, एक्युआईमा पनि देखाइने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?