काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना परीक्षार्थी रहेका छन् ।
कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । त्यसैगरी, परीक्षामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
त्यस्तै, जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फत उत्तरपुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनुअगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभएको छ ।
त्यस्तै, परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
७७ हजार ४८५ जना जनशक्ति परिचालन
बोर्डका अनुसार एसइई परीक्षाका लागि प्रत्यक्ष रूपमा ७७ हजार ४८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रतिकेन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर २६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै, १५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार १२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी, एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार ९६० सुरक्षाकर्मी परिचालन गरिनेछ ।
परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको संख्या थप हुनसक्ने पौडेलको भनाइ छ । उहाँका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ ।
३५ प्रतिशत अंक ल्याउनुपर्ने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट वि.सं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । यस वर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यस वर्ष पहिलोपटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने भएको छ ।
परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ प्रतिशत अंक र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने बताउँदै एक सय पूर्णांक रहेको विषयमा ३५ र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनुपर्ने जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । उहाँका अनुसार ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच