नेपाल बोर्बोन कफीको देश भएको निक्र्योल

प्रतिवेदन भन्छ- एकै किसिमको कफीमा भरपर्नु जोखिम हुनसक्छ

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । नेपालमा ‘बोर्बोन’ जातको कफी उपयुक्त हुने एक अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकूल हुने अध्ययनले देखाएको हो । युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा उक्त अध्ययन गरिएको थियो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

उत्तम कफीको जात पहिचान गरी नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकूलनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले अध्ययन गरिएको थियो । नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन सहितको उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनले सरकारी नर्सरीहरूले आणुवांशिक विविधता काम गरिरहेको देखाएको छ ।

अनुसन्धानले समेटेमध्ये ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिएमध्ये ९८ प्रतिशत बोर्बोन आणुवांशिक पृष्ठभूमि रहेको देखिएको छ । अध्ययनको क्रममा संकलन गरिएका नमुनाहरूमध्ये ८० प्रतिशत परम्परागत अरेबिका जातका भेटिएको प्रतिवेदनमा उल्लेख छ । कुल नमुनाहरूमध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड (मिश्रित) जात र तीन प्रतिशत इथियोपियिन पृष्ठभूमिका थिए ।

बोर्बोन जातका कफी आणुवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकाले ठूलो जोखिम रहेकोतर्फ प्रतिवेदनले सचेत गराएको छ । ‘ठूलो मात्रामा बोर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो,’ प्रतिवेदनमा भनिएको छ ।

नेपाल बोर्बोन कफीको देश भएको निक्र्योल गर्दै प्रतिवेदनले एकै किसिमको आणुवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनुपर्ने सुझाव दिएको छ । अनुसन्धानको क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना संकलन गरिएका थिए । अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कफी अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैैज्ञानिक जित नारायण चौधरीले नेपालमा किसानले स्थानीयस्तरमै कफीको आफ्नै तरिकाले स्थानीय रूपमा नाम दिएको र आधिकारिक रूपमा कफीको जातको नामकरण नभएको अवस्थामा नेपालमा उपलब्ध भएका कफीका आणुवांशिक जातका बारेमा पहिचान गर्न अनुसन्धान गरिएको बताउनुभयो । उक्त अवसरमा युरोपियन युनियनको इयु नेपाल टिआइपीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले कार्यक्रमले नेपालको व्यापार क्षमता अभिवृद्धिमा गरेको सहयोगबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि तथा वन विश्व विद्यालय तथा नेपाल कफी उत्पादक संघलगायत कफी क्षेत्रका प्रमुख सरोकारवाला निकायको उपस्थिति थियो ।

युरोपियन युनियनको सहयोगमा सञ्चालित चार वर्षे इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) सन् २०२० फेब्रुअरीमा भएको हो र यसले व्यापार तथा क्षेत्रीय एवं विश्व मूल्य शृंखलामा सहभागिता बढाएर नेपाल सरकारलाई दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न एवं गरिबी घटाउन नेपाल सरकारलाई सहयोग गर्छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) द्वारा कार्यान्वयन भइरहेको यस परियोजनाले नेपालको कफी तथा पश्मिनाको मूल्य शृंखलाको दिगो तथा समावेशी विकासका लागि निर्यात केन्द्रित भइ सहयोग गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?