कांग्रेसमा फेरि किचलो !

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

त्यसैले त भनिएको हो, राजनीति सधैं सरल रेखामा हिँड्दैन भनेर । राणा शासनकालभन्दा अघि हेर्ने हो भने यस्तै थियो, राणा शासनकालमा पनि यस्तै थियो र त्यसभन्दापछि पनि यस्तै छ । वीरशमशेरले जीवनभरि परपरै पारेर पन्साएका र उपत्यका निकाला गर्न लागेका भाइ चन्द्रशमशेर-वीरशमशेरकी श्रीमती वा उनकी भाउजूको सहानुभूतिमा मात्रै उपत्यकामा रहन पाएका थिए । तर, तिनै चन्द्रशमशेर दाजु वीरशमशेरको मृत्यु हुनासाथ प्रधानमन्त्री बनेका देवशमशेरलाई पन्साएर आफू श्री ३ भएर नेपालकै इतिहासमा दोस्रो लामो कार्यकाल प्रधानमन्त्री भए उनी । एकजना निरंकुश शासकका रूपमा उनलाई इतिहासले चिनाउने गरेको छ ।

पृथ्वीनारायण शाहको अवसानपछि प्रतापसिंह शाह, बहादुर शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी, बहादुर शाह, रणबहादुर शाह, त्यसयता पनि शासनमा रहेका र रहने आकांक्षा बोकेका शासक, भाइभारदार, रानीहरू सबैबीच यस्तै कलहको इतिहास छ, कहिले आफैँबीच र कहिले विभिन्न बंशबीच । यता राजनीतिक पार्टीहरूको पनि इतिहास यस्तै छ । विभिन्न गुट-उपगुटको राजनीति । नेपाली कांग्रेस पार्टीमा स्थापना कालदेखि यस्तै रहँदै आएको छ । कहिले बीपी-डिल्लीरमण, कहिले बीपी-मातृका, कहिले बीपी-सुवर्ण शमशेरबीच सधैं टकराव भइरहृयो । एउटा पक्षले अहिंसात्मक आन्दोलन गर्नेभन्दा अर्को गुट सशस्त्र क्रान्तिका पक्षमा रहने । राणा शासन हट्नुभन्दा पहिले, त्यसपछिको प्रजातन्त्रकालमा र पञ्चायत कालमा यस्तै देखियो सधैं ।

पञ्चायतको अन्तिमतिर बीपी बाँचुन्जेल अरूबाट उहाँको विरुद्धमा भित्र जे जस्तो भए पनि बाहिर आवाज उठाउने हिम्मत कसैले गरेनन् तर बीपीको निधनपछि भने फेरि गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहबीच कहिल्यै सुमधुरसम्बन्ध कायम रहन सकेन । त्यपछि पनि यो परम्पराले निरन्तरता पाइरहेको छ, आजका दिनसम्म मेटिन सकेको छैन, बरू यसको सट्टामा अझै बढी झांगिएर गएको छ । यही क्रममा नेपाली कांग्रेस आजका दिनमा दिग्भ्रमित बनेको छ । स्पष्ट खाका लिएर अगाडि बढ्न सकेको छैन । बीच बाटोमै अल्मलिएको छ । आपसी गुट–उपगुटहरू त छँदैछन् । ती धाँजाहरू मेटिने छनक छैन, अझै बढी तिनको दूरी बढेर गइरहेको छ । आपूm संसद्मा सबैभन्दा ठूलो दल भएर पनि अहिले सम्पूर्ण रूपमा अधिकारविहीन बन्न पुगेको छ ।

त्यसपछि पनि केही पदहरूको लालचले सरकारलाई विश्वासको मत दिन पुगेका कारण प्रमुख प्रतिपक्षको हैसियत नपाउने अवस्थामा पुगेकाले हाल अपसी कलहको भासमा भासिन पुगेको छ । दोष एउटाले अर्को गुटलाई दिने गरेका छन् । यसैगरी यो कलह बढ्दै जाने हो भने नेपाली कांग्रेस विगतमा कम्युनिष्ट पार्टीहरू फुटेजसरी फुट्ने सम्भावना छैन भन्न कसैले पनि सक्दैन । ‘ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ’ भन्ने उखान नेपाली कांग्रेसमा लागू हुन्छ । यसरी नै अरूबाट लखेटिनु पर्दा र आपसमा कलहको अवस्था सिर्जना हुँदा पार्टी कमजोर बन्ने कुरा स्पष्ट छ । नेपाली कांग्रेसले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अब एक ढिक्का भएर पार्टीलाई अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

संकटका बेला आफू एक हुनुपर्ने हुन्छ । यो पुरानै परम्परा हो । महाभारत कालका ज्येष्ठ पाण्डव युधिष्ठिरले भाइहरूलाई शिक्षा दिँदा आफू-आफूमा लड्दा एक सय र पाँच भएर लड्ने र अरूसँग लड्दा आफ्नो कुलको बचाउका लागि एक सय पाँच भएर लड्नुपर्छ भनेका थिए । नेपाली कांग्रेस अहिले यस्तै संकटको घडीमा छ । सबैले चारैतिरबाट लखेटेको बेला छ । उसले सबैभन्दा पहिले आफ्नो बचाउ गर्नुपर्ने हुन्छ । यसका लागि आपसी द्वन्द्व होइन मिलनको बाटो अवलम्बन गर्नु आवश्यक छ । नेपाली कांग्रेसले अहिले यस समयको राम्ररी उपयोग गरी संगठन मजबुत बनाउने र आपसी एकताको वातावरण सिर्जना गर्नेजस्ता कार्यमा लाग्नु उसका लागि श्रेयस्कर छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?