बचत रकम फिर्ताको माग गर्दै लालुपाते सहकारीविरुद्ध विरोध र्याली

दिक्तेलबजारमा सहकारीविरुद्ध निकालेको विरोध र्याली

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत अपचलन गरेपछि दिक्तेलमा विरोध र्याली निकालिएको छ । बचतकर्ताहरूको साँवा, ब्याजसहित बचत रकम फिर्ता नभएको भन्दै संघर्ष समितिले दिक्तेलबजारमा र्याली निकालेको हो ।

सहकारीविरुद्ध स्थानीय हेलिप्याडबाट सुरु भएको र्याली पूरानो बेशक्याम हुंदै रत्नपार्क, रत्नपार्क-त्रिवेणीचोक हुंदै सहकारीको कार्यालय पूरानो बैंकचोकमा पुगेको थियो । बचत जम्मागरी फिर्ता नपाएकाहरूको बाक्लो उपस्थिति भएको र्यालीले सहकारीको कार्यालयमा नाराबाजी गरेका थिए ।

विभिन्न प्लेकार्डसहितको र्याली सहकारीको कार्यालयदेखि जिल्ला समन्वय समितिको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सञ्चालक समिति भाग्न पाइँदैन, हाम्रो रकम फिर्ता गर, बचतकर्तालाई ढाट्न पाइँदैन, अनिल जोशी(सञ्चालक समिति अध्यक्ष)लाई उपस्थित गरा, रुकु जोशी(व्यवस्थापक)लाई उपस्थित गरा जस्ता नारा लगाएका थिए ।

र्याली र नारा कोणसभामा परिणत गरेर संघर्ष समिति संयोजक पदमकुमारी सैजु, बचतकर्ता धनिराम नछुङ, सुवास खत्री, टंक आचार्य, प्रकाश अधिकारी, लेखनाथ आचार्य, दुर्गाप्रसाद घिमिरे सहकारीको समस्या लिएर प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको कार्यकक्षमा पुगेका थिए । प्रजिअ सेडाईले बचत रकम फिर्ता गराउनमा प्रशस्त सहयोग गर्ने आश्वसन दिनुभएको संर्घष समितिका एकजना सदस्य दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

सोही टोली दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईको कार्यकक्षमा पनि न्याय माग्दै पुगेका थिए । करीव २०० जना बचतकर्ताको प्रतिनिधित्व गर्दै पुगेको टोलीलाई उपमेयर राईले बचत अपचलन गर्नेलाई जसरी भए पनि कारवाही गरेर बचत रकम असुल उपरमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

११ लाख रकम बचत गरिएको र पटक–पटक पैसा माग्न आउँदा कर्मचारीले आलटाल गरिरहने गरेको बचतकर्ता दिक्तेलका लक्ष्मीदास सैंजुले बताउनुभयो । समितिलाई भन्यो, समितिले कर्मचारीलाई देखाउँछ, कर्मचारीले समितिलाई देखाउँछ यसरी आलटाल गरेर अलमलाई रहेका छन् । सैंजुले भन्नुभयोे, ‘बचत रकम फिर्ता गराईदिन सम्बन्धित निकायसँग आग्रह गर्दछौं ।’ ६ लाख ७८ हजार जम्मा गरेकोमा पैसा माग्न सहकारी आउँदा अध्यक्षको मृत्यु भएको भन्दै आलटाल गरिरहेको अर्का बचतकर्ता पवित्रा पाण्डेले गुनासो पोख्नुभयो ।

२०७८ बैशाख १५ गते कोभिडका कारण सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि सहकारीको हिसाबकिताब लथालिङ्ग छ । अध्यक्षको निधन भएको २१ महिनापछि पनि सहकारी नचलेपछि आफ्नो लाखांै रकम फिर्ताको माग राख्दै बचतकर्ताहरूले दैनिक सहकारीको कार्यालय घेरिरहेका छन् ।

२०७८ बैशाख १६ पछि कुनै पनि कारोवार नभएको सहकारीमा चार हजार ५०० जना बचतकर्ता र ७४ जना ऋणी रहेका छन् । ऋणीबाट साँवा ब्याजगरी करीव १० करोड उठ्न बाँकी छ । न्युनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लगेका छन् । साँवा ब्याजगरी बचतकर्तालाई सात करोड फिर्ता दिनुपर्ने रहेको सहकारीले जनाएको छ ।

लगानी उठाएर बचतकर्ताको पैसा फिर्ता गर्ने सहकारीका कोषाध्यक्ष रमा शाक्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?