आर्मीको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । आर्मीले घरेलु टोली गण्डकी प्रदेशलाई तीन-शून्यको सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । यसअघि आर्मीले पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई तीन–शून्यकै सोझो सेटमा हराएको थियो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीले गण्डकीमाथि २५-१०, २५-१६ र २५-१६ को सहज जित निकाल्यो । लगातार दोस्रो जितसँगै आर्मीको दुई खेलबाट ६ अंक पुगेको छ ।

एपिएफको पनि समान दुई खेलबाट ६ अंक छ । न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र गण्डकीले अंकको खाता खोल्न सकेका छैनन् । मंगलबार नै एपिएफले डायमण्डलाई २५-१५, २५-२० र २५-७ ले पराजित गरी दोस्रो जित निकालेको छ ।

अब महिलातर्फ राउण्ड रोविन लिगको अन्तिम खेलमा बुधबार आर्मी र एपिएफ तथा डायमण्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । यस खेलबाट शीर्ष चारको टुंगो लाग्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब र होंगवान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता रहनेछ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएकोे छ । महिला-पुरुष दुवैतर्फ च्याम्पियन टोलीले पाँच-पाँच लाख र उपविजेता टिमले समान नगद दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तृतीय हुने टोलीलाई एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले जानकारी दिनुभयो । महिला तथा पुरुषतर्फ उत्कृष्ट एक-एक खेलाडीले जनही समान नगद २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक विधाका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई दश-दश हजार रुपैयाँ र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?