केही समय पहिले वाल्मीकि क्याम्पसको प्राङ्गणमा अचानक प्राध्यापक कुमार कोइराला सरसँग भेट भयो । केही सुखदुःखका र केही लेखनपठनका कुरा भए । लेखन र पठनकै वर्तमान अवस्थाका विषयमा चर्चा गर्नेक्रममा कोइराला सरले भन्नुभयो ‘बुझ्नुभयो चालिसेजी, हामीले आफ्नो क्षेत्रमा जे काम गरिरहका छौँ भन्ने ठानिरहेका छौँ नि त्यो पनि त्यति सन्तोषजनक छैन । सिर्जनाको क्षेत्र त अलि बिसेक होला तर हामी जसले आफूलाई समालोचक ठानिरहेका छौँ र केही लेखिरहेको ठान्दै आएका छौँ सबैको कुरा त म गर्दिन वास्तवमा म सूरदासको नगरीमा चश्माको व्यापार गरिरहेको छु । पढ्ने परम्परा मेटिएको छ ।
जति मिहिनेत गरेर एउटा लेख तयार गरिएको हुन्छ त्यसको मर्म बुझ्ने पाठकहरूको कमी छ । समालोचना लेख्छु र छापिएपछि आफैँले पढ्छु । वास्तवमा योग्य लेखक छन् तर तदनुरूपका पाठक छैनन् । पाठक छैनन् मात्र होइन लेखन र पठनका क्षेत्रमा पछिल्लो समयमा मौलाउँदै गएको उदासीनता र आत्मकेन्द्री प्रवृत्तिले हामी लेखकलाई निराशमात्रै बनाएको छैन समग्र चेतनालाई नै खबर्दारी गरिरहेको छ । कुरा सुनेर तत्काल हल्का हासेँ पनि तर कुरा वास्तवमै गम्भीर थियो । हामीले साँच्चै त्यस्तो क्षेत्रमा आफ्नो लगानी गरिरहेका छौँ जहाँ ज्ञानको गरिमा थाहै छैन ।
यताका वर्षहरूमा बाहिरबाट हेर्दा निकै अध्ययनशील र सरल लाग्ने केही विद्वान्हरूसँग सङ्गत गर्ने अवसरहरू प्राप्त भए तर जब उनीहरूका कुरा सुन्ने मौका मिल्थ्यो उनीहरू पनि अरूको लेखनमा त्यति अद्यावधिक नभएका र आफ्नै ज्ञान र गरिमामा गर्व गर्ने गरेको पाएँ ।
कुमार सर वा यस क्षेत्रमा परिश्रमपूर्वक आफ्नो योगदान गरिरहेका धेरै समालोचकहरूको पनि सायद बुझाइ यसै प्रकृतिको रहेको होला । साहित्य, समालोचना वा अन्य यस्तै सिर्जनाको क्षेत्रमा रहेको वर्तमान अवस्थालाई प्रतिनिधि रूपमा बुझ्नका निम्ति सायद यत्ति भनाइ नै पर्याप्त छ । केही वर्ष पहिले प्राध्यापक गोविन्दराज भट्टराई सरले पनि समालोचकलाई लेखक नै नमान्ने समाजको दृष्टिकोणका विषयमा गुनासो गर्दै त्यही दृष्टिकोणका कारण आफूले सिर्जनाको पुरानो पथमा पुनः प्रवेश गरेको धारणा व्यक्त गर्नुभएको थियो । त्यसपछि उहाँका दर्जन जति सिर्जना (उपन्यास, कथा, कविता, निबन्ध) हरू प्रकाशित भए र भइरहेका छन् ।
र, मलाई पनि ‘भाइ, तपाईंको कलम राम्रो छ कुन विधातर्फ लाग्ने निधो गरेर साधना गर्नुपर्छ’ भन्नुभएको थियो । जब कि त्यही समयमा नै मैले पनि केही समालोचनासम्बन्धी काम गरेर समालोचना नै त हो मेरो अबको विधा भन्न खोजेको थिएँ । यी त भए समालोचनाको क्षेत्रका कुरा । कुरा सिर्जनातिर पनि त्यति चित्तबुझ्दो लाग्दैन । यद्यपि समालोचनाका तुलनामा सिर्जनामा केही फरक धारणा बनाउन सकिएला । तुलनात्मक रूपमा सिर्जनाका पाठक बढी छन् । केही स्रष्टाहरू साधनाले अब्बल बन्दैगएका वा सुन्दर कृतिहरू दिँदै आएका पनि छन् । तर समालोचना होस् वा सिर्जना अरूका कृति कम पढ्ने र आफ्नै कृतिको मात्र बखान गर्ने प्रवृत्ति भने डरलाग्दो नै छ ।
यताका वर्षहरूमा बाहिरबाट हेर्दा निकै अध्ययनशील र सरल लाग्ने केही विद्वान्सँग सङ्गत गर्ने अवसर प्राप्त भए तर जब उनीहरूका कुरा सुन्ने मौका मिल्थ्यो उनीहरू पनि अरूको लेखनमा त्यति अद्यावधिक नभएका र आफ्नै ज्ञान र गरिमामा गर्व गर्ने गरेको पाएँ । यिनीहरू पनि किन यति अनुदार होलान् ? के साँच्चै यिनीहरूले अरूका सिर्जना नपढेकै होलान् वा पढेर पनि तिनलाई महत्व नदिएका होलान् ? वा अरू केही कारण होला ? भन्ने जिज्ञासा लाग्यो ।
अनि साथसाथै कुमार सरले भनेझैँ अरूका लेख वा सिर्जना पढ्न आवश्यक नठान्ने विषयले नै त प्राथमिकता पाएको त होइन भन्ने विषय नै मजबुत बनेर आयो । अहिले समय यति फरक भएर आएको छ कि हामी कसैले पनि अरूको अस्तित्वलाई त्यति सजिलै स्वीकार गरिरहेकै छैनौँ । आफूलाई केन्द्रमा राखेर गरिने हरेक प्रकारका निर्णय र मूल्याङ्कनको पछिल्लो रूप देख्दा साँच्चै कुमार सरले भनेजस्तै हामी सबै आफ्नो लेख आफैँलेमात्र पढ्नुपर्ने कोटिमा दरिएका छौँ । यसो भनेर सबै क्षेत्रका सबै मानिसलाई एउटै डालोमा हाल्न त अवश्य मिल्दैन तर अवस्था त्यति सन्तोषजनक छैन । प्रायः सबैले आफूलाई श्रेष्ठ र उच्च दर्जाको मानिस ठानेको छ ।
आफ्ना सामु सबैलाई हल्का, साधारण र अज्ञानी मानिरहेको छ । लेखक छ उसले आफ्ना मात्रै कृतिको कुरा गरिरहेको छ । फलानो पत्रिकामा छापिएको मेरो लेख पढिस् ? भनेर सोध्छ तर सोही पत्रिकामा सोही मितिमा छापिएको तेरो लेख पनि पढेँ भन्दैन । विद्वान् मानिएको व्यक्ति छ उसले आफूलाई मात्र विद्वान् र अरूलाई मुर्ख ठानिरहेको छ । राजनीतिज्ञ छ उसले आफूलाई मात्र राजनीतिको ज्ञाता र कुशल व्यक्ति मानिरहेको छ । प्रशासक छ उसले आफैँलाई प्रशासनको ज्ञाता ठानिरेहेको छ । पत्रकार छ उसले आफैँलाई वरिष्ठ पत्रकार मानेको छ । जब कुरा नैतिकता र इमान्दारीको आउँछ उसैले आफूलाई नैतिक र इमान्दार पनि मान्छ ।
त्यस्तै देशभक्तिको कुरा होस्, कुटनीतिको कुरा होस्, शिक्षा, स्वास्थ्य, समाजसेवा वा अन्य कुनै पनि क्षेत्र किन नहोस् उसले आफूलाई त्यस विषयको विज्ञ र योग्य भन्ने नै मानेको छ । आफूलाई श्रेष्ठ ठान्नु नराम्रो होइन श्रेष्ठ भएरै श्रेष्ठ हुन खोज्ने हो भने त त्यो ज्यादै राम्रो कुरा हो । सबैले आफूलाई आफ्नो ठाउँमा असल बनाउँदै जाने हो भने यति धेरै समस्या नै आउँने थिएनन् । यति धेरै विकृति र विसङ्गति हुने थिएन । यति धेरै गुनासा र निराशा छाउने पनि थिएन तर कुरा त्यसो हुँदैन । कमसलले आफूलाई असल आफू भनाउन खोज्दा बढेको समस्याको समाधान त्यतिखेर मात्र सम्भव छ जतिखेर मानिसले आफूमा भएको कमजोरीलाई कमजोरी ठान्ने महानता देखाउन सक्छ ।
लेखनकै क्षेत्रमा कुरा गर्दा वर्षेनी अझ कसैले त महिना दुई महिनामा पुस्तक निकालेको छ तर त्यो समयका अरूका किताब के कस्ता छन् पढेकै छैन र पढ्न आवश्यक ठानेको छैन । एक दुईजनालाई त्यस प्रकारको सुझाव पनि दिइयो तर उसले त्यस प्रकारको सल्लाहलाई अनावश्यक ठानेको छ । र आफैँलाई यो समयको अब्बल स्रष्टा ठानेको छ । समालोचना गर्न भनेर कुनै समालोचकलाई पुस्तक प्रदान गरेपछि समालोचकबाट आफ्नो प्रशस्ति आओस् भन्ने ठानेको छ र यदि त्यसो नभएको अवस्थामा समालोचकलाई गाली नै गर्न पछि परेको छैन ।
भनिन्छ नि साहित्यको खेती गरेका व्यक्तिहरू तिनीहरूबाट साहित्यको सेवा वा योगदान भएको छैन । धान, गहुँजस्ता फसल उब्जाएर आयआर्जन गरेझैँ उक्त साहित्यको खेतीमा पनि रासायनिक मल हालेर खेती सपार्ने र मनग्य आयआर्जन गर्ने सपना सँगालेको छ । त्यसरी प्रायोजित रूपमा गरिएको साहित्यको खेती झट्ट हेर्दा उर्वरा देखिए पनि कालान्तरमा त्यसबाट साहित्य जगत्लाई ठूलो नोक्सानी भएको छ । एक दिनको भेटमा रत्नपुस्तक भण्डारका गोविन्द श्रेष्ठ दाइले भन्नुभयो ‘कतिपय मदन पुरस्कार प्राप्त लेखकहरू त्यसपछि लाजमर्दो किसिमले हराए ।’
हुन पनि धेरैको लेखन खस्कियो आफ्नो विद्यमान लेखनलाई सुधारेर लैजाने वा यथावत् राख्नेसम्म पनि हुन सकिरहेको छैन । यति भनेर उहाँले केही चर्चित भएका साहित्यकारहरूको नाम र अहिलेको अवस्थाको समीक्षा नै गर्नुभयो । उहाँलाई जस्तै हामी धेरैलाई लागेको कुरा पनि यही हो । साहित्यको खेती गरेका ती स्वनामधन्य स्रष्टाहरूले आफ्नो नगदे खेतीलाई निरन्तरता दिन सकेनन् । त्यसको असर अहिलेको नेपाली साहित्यले बेहोरिरहेको छ । त्यतिमात्र होइन पुरस्कार पाउनका निम्ति गरिने लविङ पनि त्यत्तिकै लाजलाग्दो छ । यो पनि साहित्यको मौसमी खेतीको दृष्टान्त हो ।
ती स्रष्टा जसले आफूलाई अब्बल स्रष्टा ठान्दै आएका छन् तिनीसँग भेट्दा पनि कुरा आफ्नै रचनाका मात्रै हुन्छन् । आफूले सम्मानको अपेक्षा गर्नेहरूले अरूको पनि सम्मान गर्न जान्नुपर्छ । अन्यथा हामी सबै आफ्नै लेख पढ्ने पाठक मात्र हुनेछौँ ।
ती स्रष्टा जसले आफूलाई अब्बल स्रष्टा ठान्दैआएका छन् तिनीसँग भेट्दा पनि कुरा आफ्नै रचनाका मात्रै हुन्छन् । आफूले सम्मानको अपेक्षा गर्नेहरूले अरूको पनि सम्मान गर्न जान्नुपर्छ । अन्यथा हामी सबै आफ्नै लेख पढ्ने पाठक मात्र हुनेछौँ र यो अवस्था हाम्रा निम्ति निश्चय पनि चिन्ताको अवस्था हो । जुन ठाउँ गयो, जुन व्यक्तिलाई भेट्यो, जसका कुरा सुन्यो, जसको व्यवहार हे¥यो उही व्यक्तिमा त्यो समस्या छ भन्ने बुझिन आउनु दृष्टिकोणको अर्को पक्ष हो । त्यो हो जुन मानिसले आफूलाई असल र अरूलाई कमसल देखिरहेको छ र त्यसै विषयमा मैलेजस्तै असलका बारेमा लेखिरहेको छु भन्ने ठानेको छ उही व्यक्ति पनि स्पष्ट छैन । त्यही व्यक्ति सुल्झिएको छैन ।
अर्थात् यो घटनाको अर्को पात्र म हुन सक्छु र मजस्तै अर्को व्यक्ति हुन सक्छ । अरूमा खोट देख्ने मेरा आँखा उज्याला छैनन् । अरूमा अशुद्धता देख्ने मेरै कलममा शुद्धता छैन । अरूको विचार होचो देख्ने मेरै विचार उचो छैन । अरूको व्यवहार खराब देख्ने मेरै व्यवहार असल छैन । अरूका कर्म दूषित देख्ने मेरै कर्म स्वच्छ छैन तर अरूलाई हेर्न बनेका आँखाले आफूलाई हेर्न सकिएका छैनन् । किनकि मेरा आँखा मतिर नभएर अरूतिर फर्केका छन् । प्रिय सञ्चेतना ! त्यसैले आत्मालोचनाभन्दा सुन्दर समीक्षा अर्को कुनै छैन । कामना गरौँ आफ्नो लेख आफैँले मात्र पढ्नुपर्ने समयको छिटै अन्त्य होओस् । कुमार सर वा अन्य कुनै विद्वान्ले चित्त दुःखाउने समय हाम्रो समय हुँदै होइन !!!
चालिसे सरको कुरो सहि छ। यो सामाजिक संजालमा लेखहरुको बाढी (Deluge of writing) को कारणले पाठकहरुलाई अलिकति निष्क्रिय बनाएकै हो । समग्रमा समालोचना पढ्ने कमै हुन्छन । तर पनि पढ्ने वर्ग अझै छ जस्तो लाग्छ त्यो जमात सानो भएपनि ।
नारायण शर ! यहाँ ले उठान गरेकाे विषय मसिनाे,सानाे जस्ताे देखिए पनि सत्य र गम्भीर विषयकाे उठान हाे। सत्य पनि यहि हाे। तर स्रष्टा हरुकाे लेखन मान्छेले कति पढ्छन भनेर मात्र लेखिदैनन वरु लेखन त यहलाेकमात्र सिमित हुदैन परलाेकमा अझ महत्त्व एवं उच्चस्तरीय स्थान हुन्छ। लेख्दै जाउ आत्मआलाेचना पनि गर्दै जाउ।