मन्त्रालयहरुमा समन्वय नहुँदा समयमै काम पूरा भएनन् : परराष्ट्रमन्त्री पौड्याल

Read Time = 5 mins

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताउनुभएको छ ।

शुक्रवार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताउनु भयो । उहाँले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताउनु भयो ।

मन्त्री पौड्यालले नेपाल भौगोलिक विविधताका कारण विश्वमा उब्जनी नहुने उत्पादनहरु पनि उब्जाउन सक्ने क्षमताको भएपनि भौगोलिक विविधताको आवश्यक प्रयोग गर्न असफल भइरहेको बताउनु भयो । उहाँले मानव श्रोतको विविधतालाई पनि नेपालले सही सदुपयोग गर्न नसकिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्रमा गएपछि सबैभन्दा पहिला मैले हेरेको अन्तर विषयगत मन्त्रालयको समन्वय नभएका कारणले पहिला नै पूरा हुनेपर्ने परियोजना सकिएका छैनन् । नीतिमा पनि त्यस्तै भइरहेको छ । संविधान छ कानून छैन, कानून छ, नीति छैन, नियम, कार्यविधिहरु छैनन् । नीतिसँग वार्षिक बजेट र कार्यक्रम जोडिनुपर्छ । कहिलेकाहीँ वार्षिक कार्यक्रममा पर्छ बजेटमा छैन, समन्वय नभएका धेरै कुराहरु छैनन् । भौगालिक विविधताका कारण हामीलाई जतिबेला जे पनि उब्जाउन दिएको छ । त्यसलाई राम्रोसँग उपयोग गर्न सकेका छैनौँ । अर्को ह्युमन डायभर्सिटी, मानव श्रोतको विविधता हो ।’

मन्त्री पौडेलले खाद्य उत्पादन र वितरणमा विभेद हुनाले भोकमरीको समस्या समाधान गर्न नसकिएको बताउनु भयो । उहाँले कोहीलाई खानु नहुने र पर्यात्प खान पाउने अवस्था रहेपनि कोही भने खान नपाएर मरिरहनुपरेको अवस्था रहेको बताउनु भयो । उहाँले आद्य सामग्रीको उत्पादन र वितरणमा भइरहेको विभेदलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय खाद्य सामग्रीहरु सहजै हाट बजारमा पाउने व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खाद्य भनेको कुरा बनाएर खान मिल्दैन उब्जाउनै पर्छ । केही न केही उब्जाएपछि बल्ल मिसाउने हो । त्यसैले उत्पादन महत्वपूर्ण हो, त्यसपछि डिस्ट्रिब्युशन र क्रय शक्तिको कुरा हो । फुड सेक्युरिटीमा विभेद भइरहेको छ । कोही खान नपरोस् भनेर चलिरहेका छन्, कोही खान नपाइरहेका छन् । त्यसैले विभेद उत्पादनमा छ, वितरणप्रणालीमा छ, यसलाई अन्त्य गर्नुपर्छ । भोकमरीको अवस्थालाई अन्त्य गर्नको लागि के श्रोत र साधन छ कसरी प्रयोग गरिरहेका छौँ त्यो बुझ्न आवश्यक छ । हाम्रो देशमा भूविविधताका कारण देशमा नहुने कुनै बाली नै छैन । लोकल हाट बजारमा सेलरोटी र आलुदम पाउँथ्यो, अहिले रेष्टुराँमा छिरेको छ, जहाँ सबैको पहुँच छैन, हाट बजारमा चाउचाउ र रेडबुल छ । फुड हेबिट हाम्रो नराम्रोसँग बिग्रिएको छ । यसमा हामीले ठूलो क्याम्पियन गर्नुपर्छ । हाम्रो फुड कल्चरलाई फर्काउन जरुरी छ ।’

मन्त्री पौड्यालले फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन नेपालमा ठूलो क्याम्पियन चलाउन जरुरी रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?