परम्परागत घुम्ती गोठमा रहरलाग्दो भेडापालन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । रोजगारीका लागि सिंगापुर र मलेसियामा दुई दशक बिताएर स्वदेश फर्केका म्याग्दीका एक युवाले आफ्ना बाबु-बाजेको पेशालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गर्नुका साथै उदाहरणीय बनेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले आफ्ना पितापुर्खाको स्मरणमा पुख्र्यौली पेशालाई नै निरन्तरता दिन धवलागिरि हिमालको काखमा ६ सय बढी भेडापालन गर्दै आउनुभएको हो ।

विगत पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रहरूमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आउनुभएका छन्त्याल यतिबेला ६ सय बढी भेडाहरूको बथान लिएर धवलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरि हिमालको बेस क्याम्पतिर उक्लिनुभएको छ । महयाले भन्ने ठाउँबाट टेलिफोनमा छन्त्यालले भन्नुभयो, ‘यो मेरा पितापुर्खाको थलो हो, यहाँ मेरा पूर्वजका पैतालाका डोबहरू छन् । तिनै डोबलाई पछ्याउँदै मैले विदेशको चमकदमक र शहरको सुखसयललाई छोडेर भेडापालन रोजेको हुँ ।’

छन्त्यालको परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किनुभएका उहाँले आफ्ना पुर्खाहरूले जीवन बिताएको जंगल र भिरपाखाहरूमा नै रमाइलो लाग्ने र जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताउनुभयो । भेडाको बथान लिएर धवलागिरि गाउँपालिका-५ र रघुगंगा गाउँपालिका-८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा जान लाग्नुभएका छन्त्यालले व्यावसायिकरूपमा भेडा पालन गर्ने कृषकहरूको संख्या घट्दै गएकोमा दुःख लागेको बताउनुभयो । ‘दुःख त हुन्छ तर आफ्ना बाबुबाजेले गरेको काम गर्न संकोच लाग्दैन,’ छन्त्यालले भन्नुभयो, ‘देशविदेश घुमियो, रंग रमाइलो पनि गरियो तर आफ्नो जन्मभूमिमा आफ्नै पुर्खाले गरेको काम गर्दा पाइने आनन्द कतै पाउन सकिएन ।’

छन्त्यालले एक वर्षको अवधिमा एक सय बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर २५ लाख बढी आम्दानी भएको जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जंगलहरूमा घुम्ती गोठमार्फत् भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेशालाई रोजेको उहाँले बताउनुभयो । छन्त्यालको दैनिकी बिहान उठेर भेडाको गणना गर्दै सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने गर्नुहुन्छ । लेकको बुकी र पाखापखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्केर भेडाको स्याहारमा नै लाग्नुहुन्छ छन्त्याल ।

‘जंगलको बास, फोन, इन्टरनेटको त परको कुरा रेडियोसमेत सुन्न सकिँदैन । वर्षा, हिमपात केही भन्न पाइँदैन । गोठालाको जीवन सजिलो त छैन तर स्वच्छ प्राकृतिक वातावरणमा आफ्नै राजीखुसीको काम गर्न पाउँदा आनन्द लाग्छ,’ छन्त्यालले भन्नुभयो । छन्त्यालले विदेशमा आर्जन गरेको रकमसहित ऋणसमेत गरेर पाँच वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गर्नुभएको थियो । छन्त्यालको घुम्ती गोठमा अहिले झण्डै ६०० भन्दा बढी भेडाबाख्रा रहेका छन् । आफूबाहेक दुईजना हेरालु राख्नुभएका छन्त्याल आफ्ना पुर्खाहरूले अंगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेशालाई अवसर र चुनौती दुवै रूपमा लिएको बताउनुहुन्छ ।

यस क्षेत्रमा अहिले करिब आठवटा भेडीगोठ छन् । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोलालगायतमा भेडीगोठ छन् । त्यसैगरी च्यामली चौर, आधार शिविर, ऋरु, चौरावन, नयाँवन, रिखार र तांगे, भांगे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन् । धवलागिरिको मुदी र गुर्जामा समेत व्यावसायिक भेडापालन हुँदै आएको छ । बेशीदेखि धवलागिरिका आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?