काठमाडौँ क्षेत्र नं-१ मा २१ राजनीतिक दल : प्रतिस्पर्धामा चर्चित नेता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् ।

सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिनुभयो ।

२१ दलहरु चुनावी प्रतिस्पर्धामा होमिएपनि मुख्यत तीन राजनीतिक दलका उम्मेदवारहरु बीच यहाँ रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौं १ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राप्रपाका तर्फबाट रवीन्द्र मिश्र र नेकपा एमालेका युवा नेता किरण पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतको उम्मेदवारीले पनि यहाँ उल्लेख्य चर्चा पाएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट हरिशरण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट शंकर बन्जाडे, हाम्रो नेपाली पार्टीबाट डम्बर शाह, जनमत पार्टीबाट हरेन्द्र चौधरीलगायतले उम्मेदवारी दिनुभएको छ ।

कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘क’मा २६ हजार चार सय ३५ र प्रदेशसभा ‘ख’मा १८ हजार पाँच सय ८३ मतदाता छन् । तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता रहेका छन् ।

सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चारवटा वडा समेटिएका छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन् । प्रदेशसभा ‘क’तर्फ काठमाडौँ महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाडौँ महानगरको ३१ वडा समेटिएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त मत परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस अगाडि छ । पार्टीगत वडाध्यक्षहरुले पाएको मतमा कांग्रेसले ९ हजार ८ सय ९५, एमालेले ९ हजार ५ सय ४१, माओवादी केन्द्रको ११ सय ५९, राप्रपा नेपालको ११ सय ४९ र विवेकशील साझाको २ सय ७३ मत छ । चार वडामध्ये १०, ११ र २९ मा कांग्रेस र ३१ नम्बर वडामा एमालेले बढी मत ल्याएको छ ।

त्यसमा पनि वडा नम्बर १० मा कांग्रेसले ३ हजार ४ सय २८ मत प्राप्त गर्दा एमालेले १ हजार ९ सय ५३ पाएको छ । एमाले प्रभाव देखिएको वडा नम्बर ३१ मा सो पार्टीले ४ हजार ७ सय ६७ मत र कांग्रेसले २९ सय ९१ मत प्राप्त गरेको थियो ।

काठमाडौँ क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?