खोटाङको जनजागृति माविले गर्यो पहिलो पटक विद्यार्थी भर्ना आह्वान

हिमालय टाइम्स
Read Time = 5 mins

-चिसाङ शेर्पा

खोटाङ शुभद्रा–मदन फाउन्डेसनको सहयोगमा सञ्चालित जनजागृति माध्यमिक विद्यालयले पहिलोपटक औपचारिकरूपमा विद्यार्थी भर्ना आह्वान गरेको छ । २०७२ सालदेखि वैकल्पिक शिक्षा अभियानका रूपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा जीवन उपयोगी शिक्षा सञ्चालन गर्दै आएको पूर्ण आवासीय विद्यालयले भर्ना आह्वान  गरेको हो ।

कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठ्यक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र हुबहु व्यवहारमा उतार्र्दै नेपालकै नमुना विद्यालयका रूपमा स्थापित भइरहेको विद्यालयले कक्षा ४, कक्षा ८ र कक्षा ११ का लागि विशेष भर्ना आह्वान गरेको हो । यसअघिसम्म आन्तरिकरूपमा विद्यार्थी भर्ना लिँंदै आएकोमा यसपटक औपचारिकरूपमै विद्यार्थी भर्ना आह्वान गरिएको प्रधानाध्यापक सविता ढकालले बताउनुभयो । अन्य कक्षाहरूका लागि भने पढ्दापढ्दै बीचमा छाडेर गएकाहरूले मात्रै भर्ना पाउनेछन् ।

सरकारबाट कक्षा ११ सम्मको स्वीकृति पाएको विद्यालयले भर्नाका लागि देशभरबाट २५ भदौसम्म आवेदन दिन सकिने तथा भदौ २९, ३० गते प्रवेश परीक्षा गरिने र भौतिकरूपमा टाढा रहेकाहरूलाई म्यासेन्जर, हृवाट्सअप, भाइबर र इमोबाट प्रवेश परीक्षा लिइने व्यवस्था गरिएको छ ।

विद्यालय सुरुवात भएदेखि पहिलोपटक विशेष विद्यार्थी भर्ना आह्वान गरिएको फाउन्डेसनका प्रबन्ध निर्देशक सूर्य राईले बताउनुभयो । ‘देशभरका फरक–फरक भूगोल र फरक–फरक समुदायका विद्यार्थीहरूलाई प्राथमिकता दिन्छौँ, विद्यार्थीहरू पूर्ण आवासीयरूपमा रहनेछन्,’ प्रबन्ध निर्देशक राईले भन्नुभयोे, ‘औपचारिक शिक्षासँगै सीप सिकेको विषयमा सिटिइभिटीसँग समन्वय गरी सीप परीक्षणसमेत गराउँछौँ, भर्ना लिँदा छात्रछात्राको विद्यार्थी सङ्ख्या बराबरी लिन्छौँ ।’ उक्त विद्यालयमा हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका १५० बढी विद्यार्थी पूर्ण आवासीयरूपमा रहेर सैद्धान्तिक र प्रयोगात्मक अध्ययन÷अनुसन्धान गरिरहेका छन् ।

मूलतः व्यक्तिका लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षाअन्तर्गत १२ सय रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा गाई, भैँसी, बङ्गुर, बाख्रा, कुखुरा, परेवा, माछा, घोडा पाल्न, बारी खनजोत गर्न, गाई भैँसीको मलमूत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन÷खान, भाँडाकुँडा माझ्न, गाडी, कम्प्युटर बनाउन÷चलाउन, कपडा सिलाउन, मानवीय मलमूत्रबाट प्राङ्गारिक मल बनाई तरकारी उत्पादन गर्नेलगायतका शिक्षा दिइँदै आएको छ ।

मानव जीवनसँग प्रत्यक्ष जोडिएको विद्यालयलाई छिट्टै ‘मानव स्कुल’ का रूपमा नामाकरण गर्ने तयारीसमेत भइरहेको छ । देशविदेशमा समेत व्यापक चर्चा कमाइसकेको विद्यालय भ्रमण तथा अवलोकन गर्नमात्रै देश तथा विदेशबाट सयौँ मानिस आउने गरेका छन् । नेपालका विद्यालयहरूले शैक्षिक भ्रमणको पहिलो गन्तव्य नै यही विद्यालयलाई बनाउने गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?