राष्ट्रिय प्राथमिकताको आयोजनाको काम नै सुस्त

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको नौ वर्ष बितिसक्यो । तर, स्तरोन्नतिको काम भने हुन सकेको छैन । सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गरे पनि बागलुङ खण्डमा काम हुन सकेको छैन । सडकको धेरै स्थानमा साँघुरो हुँदा गाडी ओहोरदोहोर गर्न समस्या छ । रूपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकले पहाडी जिल्लालाई तराईसँग जोडेको छ । तर, सडकको दुरावस्था हुँदा बागलुङका नागरिक यो सडकमा सहज रूपमा बाह्रै महिना यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो हुँदा यात्रा गर्न समस्या भएको निसीखोला गाउँपालिका-७ का तिलक खत्रीले बताउनुभयो । उहाँले सडक निकै अप्ठ्यारो हुँदा वर्षौं बित्दा पनि यातायातका साधन सहज रूपमा सञ्चालन हुन नसकेको बताउनुहुन्छ ।

‘यो सडक खुलेको धेरै वर्ष भयो, अहिलेसम्म गाडीहरू सर्रर चल्न पाएका छैनन्, कतै साँघुरो छ, कतै अप्ठ्यारो छ, यतिका वर्षसम्म काम नहुनु सरकारको कमजोरी हो कि, ठेकेदारको कमजोरी ?’ खत्रीले भन्नुभयो, ‘यस्तो सडकमा कसरी यात्रा गर्नु ?, ज्यान जोखिममा राखेर कोही पनि यात्रा गर्न मान्दैनन्, साँघुरो सडकमा गाडी पनि कसरी गुडोस् र ?’ हिउँदमा साना गाडीहरू जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उहाँको भनाइ छ । खत्रीले साँघुरो सडक हुँदा बेला बेलामा दुर्घटनासमेत हुने गरेको भन्दै यसतर्फ सरोकारवालाको ध्यान नपुगेको गुनासो पोख्नुभयो । घर अगाडि सडक भए पनि आफूहरूलाई पैदल यात्रा गर्नुपर्ने र सामान बोकेरै ढुवानी गर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सडक छ भनेर के गर्ने समस्या परेको बेला गाडी भेटिँदैन, कोही बिरामी परे पनि बोकेरै अस्पताल पुर्‍याउनुपर्ने अवस्था छ, बर्खा लाग्यो कि सडकमा हिलो मात्रै हुन्छ, गाडी देखिन्नन्, बाटो ल्याउँदा लाखौँको जग्गा दिर्यौँ, अहिले बाटो भएर पनि गाडी चल्दैनन् ।’

ढोरपाटन नगरपालिका-९ का कुलबहादुर सुनारले सडकले सहज बनाए पनि हिउँदमा धुलो र बर्खामा हिलोले आजित बनाएको बताउनुभयो । उहाँले सडक छेउमा रहेका घरहरू अहिले सबै धुलोले ढाकिएको बताउनुहुन्छ । सुनारले वर्षौं अगाडि सडकले गाउँ जोडिए पनि स्तरोन्नति नहुँदा यात्रा जोखिम हुने गरेको बताउनुभयो । ‘गाउँमा सडक आउँदा निकै खुसी लागेको थियो, अहिलेसम्म पिच हुन सकेको छैन, अहिले पनि धेरै ठाउँमा सडक साँघुरा छन्, ठूला गाडीहरू चल्न सक्दैनन्, दुर्घटनाको जोखिम पनि निकै छ,’ सुनारले भन्नुभयो, ‘सडकले सहज त बनायो, तर बर्खाको बेला चल्दैन, बुर्तिबाङदेखि गाउँसम्म आउन पनि धेरै समय लाग्छ ।’

वि.सं. २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका-१० गङ्गरे, निसीखोला गाउँपालिका-७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि गत वर्ष ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको १३ महिना बित्दा २३ प्रतिशत मात्रै काम भएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर शरद् आचार्यले जानकारी दिनुभयो । बुर्तिबाङदेखि फल्लेघरसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द÷ओम बुद्ध जेभीसँग ३० महिनामा सक्ने गरी २५ करोडको सम्झौता भएको आचार्यले बताउनुभयो । स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिइराखेको उहाँको भनाइ छ । ‘सडक चौडा गर्ने, नाली निर्माण गर्ने तथा ग्राभेलिङका लागि गत वर्ष निर्माण कम्पनीसँग सम्झौता भएको थियो, झण्डै आधा समय अवधि सकिन थाल्यो तर, काम २३ प्रतिशत मात्रै भएको छ, निर्माण कम्पनीले ढिलाइ गर्दा समस्या परेको छ,’ इञ्जिनियर आचार्यले भन्नुभयो, ‘अझै आधा अवधि बाँकी रहेको हुँदा हामीहरूले काम गर्न ताकेता गरिरहेका छौँ ।’

उहाँले गङ्गरेदेखि बुर्तिबाङसम्म पनि साना-साना ठेक्का पट्टा गरी काम भइरहेको बताउनुहुन्छ । यस खण्डमा कच्ची नाली निर्माण गर्ने, साना खोलाहरूमा हिमपाइप हाल्ने काम भइरहेको आचार्यको भनाइ छ । बाह्रै महिना सडक सञ्चालनका लागि यो खण्डमा काम भएको उहाँ बताउनुहुन्छ । ‘अहिले बुर्तिबाङ–ढोरपाटन खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, गङ्गरेदेखि बुर्तिबाङसम्मको सडकमा पनि काम नभएको होइन, सानो-सानो बजेट छुट्याएर काम हुँदै छ,’ उहाँले भन्नुभयो, ‘राजकुट, देवीस्थानसम्मको सडकलाई केही फराकिलो बनाउने र बर्खामा पनि गाडीहरू सञ्चालन हुने गरी सडक निर्माण भइरहेको छ ।’

वि.सं. २०७१ सालमा बागलुङ खण्डमा यस सडकको ट्र्याक खुलेको थियो । यो सडक बागलुङ जिल्लामा ६१ किलोमिटर सडक पर्छ भने सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । अहिलेसम्म २२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । यस सडकलाई यस वर्ष ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?