अयोध्या पठाउन लागिएको शिलाको जनकपुरधाममा पूजा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको बेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्‍याइएको छ । आइतबार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो । यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरूमा लगेर पूजा, अर्चना गरिएको थियो । देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्या पुर्‍याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहितले बताउनुभयो । भारत पठाउनका लागि पाँचवटा शिला पहिचान गरिएकोमा दुईवटा शिला पठाउन लागिएको हो ।

भारत पठाउनुअघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन् । भारत पठाउन लागिएका शिलाहरूको पूजा, आराधनाका लागि यतिबेला जनकपुर धाममा भक्तजनहरूको भिड रहेको छ । जनकपुरधामवासीहरू शिलाको पूजाका लागि उपस्थित भई रमाइलो गरिरहेका छन् । नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरू खुसी भएको जनकपुरधामवासीहरू बताउँछन् । यसले नेपाल र भारतीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरूको विश्वास छ । शिला बुधबारसम्म राम जन्मभूमिको ट्रष्टलाई जिम्मा लगाउने तयारी छ ।

शिला कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो । हिन्दू धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । गत साउनमा भारत भ्रमणमा जानुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गर्नुभएको थियो ।

भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राख्नुभएको थियो । जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?