अहिले गीतसंगीतको बाढी आए पनि स्तरीयता भने खस्कँदो छ : सुवेदी

Read Time = 17 mins

रूपा-७ कास्की स्थायी घर भई हाल राजधानी काठमाडौंमा रहेर गीतसंगीतको क्षेत्रमा सक्रिय नाम हो- प्रकाश सुवेदी । गीतकार र गजलकारका रूपमा उहाँले आफूलाई स्थापित गर्दै लानुभएको छ । सुवेदीले ‘भावना’ र ‘प्रदीप्त’ नामक एकल रचना रहेका सांगीतिक एल्बम, ‘प्रिशा’ र समिश्रण सामूहिक एल्बम निकाल्नुका साथै ६० जति गीत रेकर्ड गराएर श्रोता तथा दर्शकमाझ ल्याइसक्नु भएको छ । गीतकार तथा गजलकार प्रकट पंगेनीको लेखनकला र वाचनकलाबाट प्रभावित भएर गीत लेख्न सुरुवात गरेको बताउनुहुने सुवेदीका गीतमा स्वच्छन्दता झल्किएको पाइन्छ । विभिन्न विषयमा अति सरल, सरस र मिठास तरिकाले प्रस्फुटित हुने प्रकाशका रचनामा प्रकृति प्रेम, राष्ट्रियता, आञ्चलिकता, बालमनोविज्ञान, सुखद् प्रेम, प्रेम पीडा, जीवनको यथार्थवोध, सचेतना र समाज रूपान्तरणको भाव रहेको पाइन्छ । अहिले गीतसंगीतको बाढी आए पनि स्तरीयता भने खस्कँदो रहेको बताउनुहुने गीतकार प्रकाश सुवेदीसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

गीत–गजल लेखनको सुरुवात कसरी गर्नुभयो ?
म भित्र गीति चेतना सानैदेखि थियो तर पनि लययुक्त र वाचनयोग्य लेख्न थालेको २०५७ सालदेखि हो जतिबेला म पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिएँ ।

पहिलो रचना के थियो, सम्झना छ ?
२०४९ तीजमा जतिबेला म १३ वर्षको थिएँ । त्यतिबेला मैले तीज गीत लेखेको थिएँ । जुन यस्तै थियो-

बहुदल हो कि प्रजातन्त्र हाम्रो देशमा आको
हेर हेर चामलमा कति नाफा खाको
३२ रुपैयाँ पाथी चामल ४८ भइसक्यो
महँगीको सिमानाले आकाश छोइसक्यो... ।
यस्तै यस्तै थियो ।
हामीले गाउँमा बेसाएर खाने सामान्य चामलको मूल्य २०४८ सालको आमनिर्वाचनसम्म ३२ रुपैयाँ पाथी थियो । निर्वाचनपश्चात् बहुमतको सरकार आएपछि मूल्य बढेर प्रतिपाथीको ४८ रुपैयाँ पुग्यो । हुन त हरेक उपभोग्य सामानको मूल्य बढेको थियो होला तर पनि हामीलाई चामल, नुन र मट्टीतेलको मूल्य बढ्दा प्रत्यक्ष असर परेको अनुभूति हुन्थ्यो । त्यतिबेला महँगीको विरोधमा गीत लेखेको थिए । मूल्य कसरी बढ्यो थाहा भएन तर मलाई त्यही नयाँ सरकारले बढायो भन्ने लागेर लेखेँ ।

रेकर्ड नै गरेको रचना भने २०६१ सालमा लेखेको गजल थियो । जुन वसन्त सापकोटाको संगीतमा पोखराका गायक विमल पराजुलीले २०६९ सालमा गाउनुभएको थियो । जुन यस्तै थियो-
आहा कति सुन्दर ठाउँ दुवैतिर ताल रैछ
तालमाथि माझी दाइको माछी मार्ने जाल रैछ ।

एउटा सर्जकले कुनै पनि गीत लेख्दा विषय उठान र उठान गरिएको विषयमाथि राम्रो अध्ययन गर्न सक्नुपर्छ । शब्द भण्डार, शब्द चयन, शब्द संयोजन, समुचित अनुप्रास, समअर्थी धेरै वैकल्पिक शब्दहरूको ज्ञान, हरफहरूबीचको अन्तरसम्बन्ध मिलाउने ज्ञान हुनु गीतका आधारभूत तत्व हुन् । अर्को महत्वपूर्ण कुरा गीतमा शब्दहरूको अनावश्यक पुनरावृत्ति हुनु हुँदैन ।

अहिलेसम्म कति जति सिर्जना यहाँका श्रोता-दर्शकमाझ आएका छन् ?
सायद गीत-गजल नै भन्न खोज्नुभएको होला । रेकर्ड भएकै गीत-गजलको कुरा गर्दा आजको मितिसम्म ६० को हाराहारीमा छन् ।

पछिल्लो समय श्रोता-दर्शकमाझ आएको यहाँका कृतिको कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
मेरा भर्खरमात्र बजारमा आएका गीतहरूमध्ये ‘हुन्छ हुन्छ भन्दा भन्दै...’, ‘सन्ततिले धिक्कार्लान फेरि...’ गीतहरू र ‘एउटै छानो एउटै मानो...’ गजलको निकै राम्रो प्रतिक्रिया पाएको छु । अधिकांश श्रोताले मेरो लेखनशैली सरल, भाव गहन र गीतभित्र बुन्ने कथाको तारिफ गरेको पाउँछु ।

लेखनमा कस्ता विषय वस्तुलाई यहाँले प्राथमिकता दिनुहुन्छ ?
यदि हामीले आफूलाई बौद्धिक सर्जक मान्छौं भने हाम्रा हरेक सिर्जनाले केही न केही शिक्षा र सन्देश पस्किनुपर्छ भन्ने मेरो मान्यता छ । मेरा गीतहरूमा मायाप्रेमका अतिरिक्त बालमनोविज्ञान, राष्ट्रप्रेम, संस्कृति र पर्यटन प्रबद्र्धन, सामाजिक चेतनाजस्ता विषयवस्तुले स्थान पाएका हुन्छन् ।

यहाँको गीत-गजल लेखनको आधार के हो ?
मूलतः हामीले भोग्दै आएको परिस्थिति र परिवेश नै हो । प्रकृति, मानवीय प्रवृत्ति, राजनीतिक र सामाजिक अस्थाले पनि मलाई गीत लेखनमा आधार दिन्छन् । म कहिलेकाहीँ साथीहरूसँग अनलाइनमा या प्रत्यक्ष गफ गर्दा गर्दै कुनै कुराले छोयो भने गीतको विषय बनाउँछु ।
कहिलेकाहीँ सामाजिक सञ्जालमा देखिने एउटा तस्वीर या दृष्य नै मेरो गीतको विषयवस्तु बन्छ । एउटै वाक्यमा भन्नुपर्दा प्रकृति, परिवेश, परिस्थिति, परिस्थितिले निम्त्याउने परिबन्ध या खुशी, परिधान र प्रेमजस्ता विषय मेरा सिर्जनाका आधार हुन् ।

गीत-गजल लेखनमा यहाँले कत्तिको कुतर्क गर्नुहुन्छ ?
आफूले लेख्ने र बोल्ने हरेक विषयमा स्पष्ट भएको हुँदा कुतर्क गर्ने बानी छैन बरू कसैले कुतर्क ग¥यो भने चित्त बुझ्दो तार्किक जवाफ दिने सामाथ्र्य राख्छु ।

यहाँको करिअरको ‘ट्रनिङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ, अर्थात् यहाँलाई गीतकारको रूपमा पहिचान दिलाउने गीत कुन थियो ?
२०७२ सालको अन्तिममा रेकर्ड भएर २०७३ सालमा बजारमा आएको राष्ट्रिय भावनाले ओतप्रोत गीत-
‘टुक्रिएको देश होइन हो मलाई सिंगै नेपाल चाहिन्छ
जहाँ अग्ला हिमालसँगै समथर फाँट पाइन्छ
एकताले बाँधिएको हो मलाई सिंगै देश चाहिन्छ
नेपाली भइ चिनाउने हाम्रो आफ्नै भेष चाहिन्छ ।।
यो गीत वसन्त सापकोटाको संगीतमा सुमधुर स्वरका धनी गायक स्वरूपराज आचार्य र बाल गायिका प्रिशा श्रेष्ठले गाउनुभएको थियो । त्यो समयमा देश संघीयतामा जाने निकै चर्चा थियो । एकथरी राजनीतिज्ञहरूले सीमित स्वार्थका लागि जातीयताको आधारमा देशलाई संघीयतामा लैजानुपर्छ भनिरहेका थिए । संघीयताको नाममा यस्तो परिस्थिति आउन दिनुहुन्न भन्ने लागेर मैले यो गीत लेखेको थिएँ ।

तपाईंले धेरै सन्देशमूलक गीतहरू पनि लेख्नुभएको छ, केही गीतहरूको नाम र सो गीतहरूका बारेमा भन्नुपर्दा ?
सीप सिकौं दक्ष बनौं कहिल्यै जान्न खेरा
सीपसँगै मिहिनेत गरौं अब हेर
यो गीत मैले वैदेशिक रोजगार बोर्डको अनुरोधमा भिडियोसहित तयार पारेको थिए । तिमी स्वदेशमा बस या विदेशमा सीपयुक्त भएरमात्र काम गर, सीप भएको व्यक्तिले कहीँ गएर पनि दुःख पाउनु पर्दैन भन्ने भाव छ । यसरी नै कोभिडको सुरुवातमा यस्तो प्रतिकूल अवस्थामा तेरो देश मेरो देश, तेरो जात मेरो जात, तेरो धर्म मेरो धर्म होइन कि विश्वभरका मानिसहरूमा विश्व बन्धुत्वको भावना जागृत गराउनुपर्छ भन्ने भावसहित मेरो विश्व मेरो घर (My World My Home) गीत अंग्रेजी सबटाइटलसहित बजारमा ल्याएको थिए ।

वर्तमान समयमा आइरहेका गीत गजललाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ?
पछिल्लो समयमा निकै राम्रा गीत गजलहरू आइरहेका छन् । गजलमा भन्दा पनि गीतमा नेपाली सांगीतिक क्षेत्रले निकै फड्को मारेको छ । पहिला गीत रेकर्ड गराउन सिमित व्यक्तिहरूको मात्र पहुँच भएकाले छानिएका सर्जक कलाकारले मात्र स्थान पाउँथे । अहिले प्रबल इच्छाशक्ति र साधनस्रोत भएका जो कोही व्यक्तिले गीत रेकर्ड गराउन सक्छ । कला र पैसा हुनेलाई सहज पहुँच भएकाले बजारमा आएकामध्ये केही गीत स्तरीय नहुनु स्वभाविक हो । पछिल्लो समय एकातिर निकै राम्रा गीतहरू बजारमा आएका छन् भने अर्कोतिर गीतसंगीतमा विकृति पनि त्यत्तिकै बढेको छ । यसलाई म स्वभाविक रूपमा लिन्छु । अहिले गीतसंगीतको बाढी आएको छ, त्यही बाढीले सिँचाइका लागि मूल पनि फुटाउँछ भने त्यही बाढीले घर खेतैसमेत बगाउँछ ।

गीत गजल लेखनमा आफूले आफूलाई मूल्यांकन गर्दा कसरी मूल्यांकन गर्नुहुन्छ ?
गीत लेखन होस् या संगीत निर्माण र गायन यी सबै साधना नै हुन् । त्यसैले म पनि हरेक दिन परिष्कार खोज्ने पवित्र साधनामा लागेको एउटा साधक हुँ । सांगीतिक बजार, साहित्यिक व्यक्तित्व, श्रोता र सरकारी निकायहरूले समेत पत्याएरै होला एउटा व्यावसायिक गीतकारको रूपमा स्थापित छु ।

एउटा राम्रो गीतमा के-के हुनुपर्छ भन्ने लाग्छ ?
एउटा सर्जकले कुनै पनि गीत लेख्दा विषय उठान र उठान गरिएको विषयमाथि राम्रो अध्ययन गर्न सक्नुपर्छ । शब्द भण्डार, शब्द चयन, शब्द संयोजन, समुचित अनुप्रास, समअर्थी धेरै वैकल्पिक शब्दहरूको ज्ञान, हरफहरूबीचको अन्तरसम्बन्ध मिलाउने ज्ञान हुनु गीतका आधारभूत तत्व हुन् । अर्को महत्वपूर्ण कुरा गीतमा शब्दहरूको अनावश्यक पुनरावृत्ति हुनु हुँदैन ।

गीतको सिर्जना परिवेश कस्तो हुन्छ ? तपाईं स्वतः लेख्नुहुन्छ कि जबर्जस्ती ?
व्यक्ति र परिस्थिति अनुसार फरक हुन्छ । अधिकांश सर्जकका लागि एकान्त ठाउँ र शान्त मन नै उपयुक्त हुन्छ । यो नै शतप्रतिसत सत्य भने होइन । कहिलकाँही मन विरक्तिएका बेला स्वस्फुर्त विरक्त गीत पनि लेखिन्छ । म कहिलेकाहीँ भिडमै गीत लेख्छु तर स्वयंलाई एकाग्र भने बनाउन सक्नुपर्छ । भिडलाई ड्याम केयर गर्‍यो भने त्यहाँ पनि मान्छे एकचित्त बन्न सक्छ । कुन परिस्थितिमा के कुराले छुन्छ भन्ने हो । जबरजस्ती त केही पनि लेख्न सकिन्न । प्रायः स्वस्फूर्त नै लेख्छु तर पनि मेरा कतिपय गीतहरू अनुशन्धानमूलक छन् । यस्ता गीतमा पहिला डाटा संकलन गर्न आवश्यक हुन्छ । मैले लेखेका ‘पनौती सुन्दर पनौती’, ‘हाम्रो प्यारो रूपा’, र ‘संस्कृतिले भरिपूर्ण सम्पदाकी खानी’ जस्ता स्थानीय तहका परिचयात्मक गीतहरू गहन अनुशन्धान र अध्ययनपश्चात् मात्र तयार भएका हुन् ।

गीत-गजलबाहेक अन्य विषयमा लेख्ने झोंक चलेको छैन ?
छ किन नहुनु । गीत र गजलबाहेक मैले अर्टिकल, विभिन्न व्यक्तिका संघर्ष र सफलताका कथा पनि लेखेको छु । साहित्यकै विद्यार्थी भएकाले कतिपय कृति समीक्षा पनि लेखेको छु ।

गीतसंगीत क्षेत्रमा रहेका गुट-उपगुटलाई कसरी लिनुहुन्छ ?

म अलि भिन्न स्वभावको छु । चाहिनेभन्दा अनावश्यक मान्छे र भिडभाडमा रमाउने बानी नभएको हुँदा यो गुट-उपगुटको स्वाद लिनै पाएको छैन । म एउटा गति समातेर आफ्नै लयमा रमाउने भएको हुँदा बाहिरका कुरामा त्यति ध्यान दिन्न । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ तर यो गुट-उपगुटले स्वयंलाई सिध्याउँछ । झन् अहिले त हरेक गुटमा राजनीतिक दलको गन्ध आउँछ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा दलका व्यक्ति भर्ती हुन्छन् । कुलपति जस्तो गरिमामय पदमा पुगेको व्यक्तिलाई सो पदमा पुग्नुभन्दा अगाडि साहित्यिक साधकले समेत चिनेको हुँदैन । मन्त्री र प्रधानमन्त्रीसँगको चिनजानको भरमा एउटा प्रतिष्ठानको कुलपति, उपकुलपति र सदस्य बन्छ । अहिले पनि केही झुण्डहरू आ-आफ्ना दलका सिफारिश बोकेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसद् सदस्य या कुलपति उपकुलपति बन्ने होडमा दौडिएको देखिन्छ । यो परिणाम यही गुटले निम्त्याएको हो ।

यहाँको अबको योजना ?
यो वर्ष मेरो गीत लेखनको गति अझै तीव्र छ । यही महिनामा मात्र तीनवटा गीत रेकर्ड गराएको छु र अन्य चारवटा गीत रेकर्ड गराउने तयारीमा छु । अघिल्ला वर्षमा झैँ केही स्थानीय तहलगायत सरकारी निकायका गीति सामग्री बनाउने प्रसंग पनि चलिरहेको छ । यस्तै यस्तै कामलाई निरन्तरता दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?