शंकाले सीमा नाघेपछि ….

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

नेपालगञ्ज । भनिने गरिएको छ शंकाले लंका जलाउँछ यस्तै घटना बाँकेको कोहलपुरमा घटेको छ । शंकाको पनि सीमा हुन्छ तर जब त्यसले सीमा पार गर्दछ तब दुर्घटना निश्चित छ यस्तै घटनाको शिकार बनेका छन् दुई वर्षीय एक बालक । बाँके कोहलपुरका एक युवाले आफ्नै नाबालक छोराको पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका छन् भने श्रीमतीलाई गम्भीर घाइते बनाएका छन् ।

कोहलपुर नगरपालिका-२ शक्तिनगर सुकुम्बासी बस्तीमा बसोवास गर्ने ३० वर्षीय भाुनभक्त विकले आफ्नै श्रीमती २२ वर्षीय गंगा विक र दुई वर्षीय बालक प्रिन्स विकलाई आइतबार बेलुकी पट्रोल छर्केर आगो लगाइदिएका थिए । स्थानीयवासी, प्रहरीले उद्धार गरी कोहलपुर मेडिकल कलेज लगेका थिए त्यहाँ उपचार सम्भव नभएपछि आमा छोरा दुवै जनालाई भेरी अञ्चल अस्पताल लगिएको र उपचारको क्रममा सोमबार बिहान दुई वर्षीय बालक प्रिन्सको मृत्यु भएको कोहलपुर नगरपालिका-२ का वडाध्यक्ष हरि कठायतले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँका अनुसार घटनाको दिन बिहानैदेखि श्रीमान श्रीमतीबीच विवाद भइरहेको थियो ।

श्रीमतीलाई सधैँ शंंकाको नजरमा हेरिरहेका भानुभक्तले कि तँ छैनस् कि म छैन भन्दै घरबाट निस्किएका थिए । बेलुका मदिरा पिएर आएका उनले श्रीमतीलाई गाली गलौज र कुटपिट गर्दै बोतलमा ल्याएको पेट्रोल छोराको अनुहार तथा श्रीमतीको शरीरमा छर्किएका थिए । लगत्तै सलाई कोरेर दुवै जनालाई आगो लगाएपछि भानुभक्त घरबाट भागेका थिए । फरार रहेका भानुभक्तलाई आइतबार राति २ बजेतिर पक्राउ गरिएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार घटना घटाएर जंगलतिर फरार भएका उनी राति नै भारतको दिल्ली जाने योजनासहित सीमा पार हुँदै गर्दा पक्राउ गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?