नक्कली कारोबारको मारमा उपभोक्ता

हिमालय टाइम्स
Read Time = 6 mins

हालका दिनमा हरेक वस्तुको नक्कली उत्पादन गरेर व्यापारीहरूले बढी नाफा लिने गरेका समाचार आइरहेका छन् । मानिसलाई रातारात मालामाल हुने, छिट्टै धनी बन्ने र समाजमा रबाफ देखाउने लाससा बढिरहेको छ । त्यसले गर्दा त्यस्तो काम जायज वा नाजायज के हो भन्नेतिर तिनीहरू सोच्दैनन् । उनीहरूलाई थाहा नभएको होइन उनीहरूले गरिरहेका त्यस्तो काम गलत हुन् भन्ने । उनीहरूलाई थाहा हुन्छ तर आफ्नो लोभानी–पापानीले गर्दा केही समयभित्रै धनी बन्न सकिन्छ, रवाफिलो जीवन जिउन पाइन्छ भन्ने सोचका कारण उनीहरू त्यस्ता गलत काम गरिरहेका हुन्छन् । यस्तै एउटा उदाहरणका रूपमा ललितपुर महालक्ष्मीको अवैधानिक नक्कली मदिरा उत्पादन र बिक्रीवितरण गर्ने कारखाना फेला परेको घटनालाई लिन सकिन्छ ।

यहाँ यसरी यस्तो कारखाना फेला पर्न सक्छ भने अन्य विभिन्न सामग्रीका नक्कली उत्पादक कम्पनी तथा कारखाखाना विभिन्न स्थानमा फेला पर्न सक्दैनन् भन्ने होइन । केही यस्ता कारोबारमा जिम्मेदार केही मानिस संलग्न नहोलान् भन्न सकिँदैन । नत्र यस्ता व्यापारीले मात्र यस्ता काम गर्ने आँट गर्न सक्लान् भनेर विश्वास गर्न सकिने आधार कमै हुनसक्छन् । अर्कातिर प्रहरी प्रशासनको पनि आँखा चिम्लने प्रवृत्तिले गर्दा त्यस्ता मानिसहरूको मनोबल बढिरहेको हुन्छ । अन्त्यमा तृणमूल तहमा रहने जनता नै मारमा पर्ने हुन् । जसले जे-जस्ता वैधानिक वा अवैधानिक काम गरोस् त्यसको मार सहने चाहिँ जनता हुन् ।

राज्यले कर बढाओस् वा यातायत व्यवसायीले भाडा बढाउन् सिधा मार जनतालाई पर्छ । इन्धनको मूल्यवृद्धि जनताकै लागि हो । अन्य जे-जस्ता नक्कली ब्राण्डका सामानहरू उत्पादन गरिन्छन् त्यसको प्रहार जनतालाई पर्न जान्छ । साबुन, सरफ, चुरोट, कपडा, खेल सामग्री, पठनपाठन सामग्रीमा गरिएको नक्कली उत्पादनबाट जनता प्रभावित त बन्छन् । तर ती प्रयोगमात्र गरिने सामग्री भएका कारण तिनबाट पैसा खर्च भए पनि स्वास्थ्यमा त्यति सोझो असर पर्दैन । मदिरालगायत जुन सेवन गरिने उपभोग्य सामग्री त्यसरी उत्पादन गरिन्छन् तीबाट मानिसको स्वास्थ्यमा ज्यादै नराम्रो असर पर्न जान्छ । नक्कली मदिरा सेवानबाट बेलाबेलामा विदेशमा र नेपालमा समेत मानिसहरू समूहिक रूपमा वा थोरै संख्यामा भए पनि बिरामी भएका र मुत्युवरण समेतका घटना छन् ।

त्यसो हुनमा धेरै मानिसको जमघट हुने, ठूलो भोजभतेरमा यस्तै नक्क्ली मदिराको सेवन प्रमुख कारण हो भन्दा अन्यथा हुनेछैन । कहिलेकाहीँ मानिसको ज्यानै गएका र आँखालगायत कमजोर अंगमा प्रहार भई अन्धअपांग भएका जस्ता अभिलेख धेरै छन् । जिम्मेवार मानिसले थाहा पाएर पनि आँखा चिम्लिदिनाले जनस्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । प्रहरी प्रशासनले पनि बेवास्ता गरिदिँदा नागरिकको स्वास्थ्यमा हानी पुग्छ भन्ने सोचिदिनुपर्ने हुन्छ । यस्ता नक्कली कारोबारबाट सरकारलाई कर पनि प्राप्त हुँदैन । गम्भीर अपराध गरी जनस्वास्थ्यलाई हानी पुग्ने काम गर्ने व्यापारीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने हुन्छ ।

सरकारले अवैध धन्दा चलाउने व्यापारीहरूका यस्ता कार्य गर्ने स्थलको पहिचान गरी तिनमा रोक लगाउनका साथै सरकारी कर्मचारी, प्रशासनका मानिसहरू तथा अन्य सरोकारवाला व्यक्तिको समेत व्यापारीसँग मिलेमतो रहेछ भने तिनलाई जागिर खोसुवा तथा अन्य कडाभन्दा कडा विभागीय कारबाहीको भागीदार बनाउनुपर्छ । त्यसो भएका खण्डमा त्यस्ता कार्यमा विस्तारै नियन्त्रण हुँदै जान्छन् । नत्र त्यस्ता व्यापारीहरूले प्रोत्साहन पाउने थोरैमात्र इसारा वा अवस्था भएका खण्डमा त्यस्ता कार्य अझै मौलाएर जाने निश्चित छ र कतिपय देश लागू पदार्थको तस्करीबाटै चलेका जस्तै हाम्रो देशमा पनि कानुन त्यस्तै मानिसका हातमा नजाला भन्न सकिँदैन । यसतर्फ विचार गरेर हाम्रो देशलाई कानुनी राज्यका रूपमा सगौरव स्थापित गर्नु आवश्यक छ । यसो गर्न नसक्दासम्म तिनले यस्ता कारोबारलाई निरन्तरता दिइरहन सक्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?