काठमाडौं । स्वस्थ शरीर र दिमागको लागि शारीरिक गतिविधिहरू धेरै महत्त्वपूर्ण छन् भनेर बाल्यकालमा तपाईँले पनि पढ्नु भएको थियो होला। त्यो सत्य पनि हो, हरेक दिन नियमित व्यायामले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि सुधार गर्छ। तर संसारमा जसरी आलस्य बढ्दै गएको छ र सोफामा बस्ने बानी पर्दै गइरहेको छ, त्यसले आममानिसको स्वास्थ्य मात्रै होइन देशलाई पनि बर्बाद गरिरहेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदन ‘ग्लोबल स्टेटस रिपोर्ट अन फिजिकल एक्टिभिटी २०२२’ ले मानिसहरू जसरी शारीरिक रुपमा शिथिल बन्दै गएका छन्, त्यसका कारण आगामी १० वर्षमा ५० करोडभन्दा बढी मानिस मोटोपना, मधुमेह, मुटु रोग जस्ता अनगिन्ती नसर्ने रोगको सिकार बन्ने देखाएको छ।
प्रतिवेदनअनुसार आज ८० प्रतिशतभन्दा बढी किशोरकिशोरी र २७ दशमलव ५ प्रतिशत वयस्कले आवश्यकताअनुसारको शारीरिक क्रियाकलाप गर्दैनन्।विश्व स्वास्थ्य संगठनको नयाँ अध्ययनले देखाएको छ कि ११ देखि १७ वर्ष उमेरका ८० प्रतिशतभन्दा बढी किशोरकिशोरीहरू दिनमा ६० मिनेटसम्म शारीरिक क्रियाकलापमा संलग्न हुँदैनन्।
यसको मूल्य स्वास्थ्यको रूपमा तिर्नुपरेको छ। यो क्रम जारी रह्यो भने शारीरिक कमजोरीका कारण उत्पन्न भएका यी रोगहरूको उपचारमा प्रत्येक वर्ष थप ३.५६ लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने अनुमान छ।
डब्लुएचओले सार्वजनिक गरेको तथ्यांकअनुसार गैर-सरुवा रोगले वर्षेनी ४ करोड १० लाख मानिसको ज्यान लिइरहेको छ। जुन विश्वव्यापी रूपमा कुल मृत्युको लगभग ७४ प्रतिशत हो। त्यही समयमा, यी मृत्युमध्ये ७७ प्रतिशत कम र मध्यम आय भएका देशहरूमा रेकर्ड गरिएको छ।
नसर्ने रोगका करिब आधा वा ४७ प्रतिशत उच्च रक्तचापका कारण हुने गरेको पाइएको छ भने बढ्दो डिप्रेसनमा ४३ प्रतिशत जिम्मेवार रहेको पाइएको छ। चिन्ताको कुरा के छ भने, यी घटनाहरूको लगभग तीन-चौथाई कम र उच्च-मध्यम आय भएका देशहरूमा हुनेछन्।
यीमध्ये धेरै देशहरूमा न त पर्याप्त सुविधाहरू छ न त त्यसबाट बच्न पर्याप्त नीतिहरू छन्। यसका साथै, सबैभन्दा ठूलो आर्थिक नोक्सान उच्च आय भएका देशहरूलाई हुनेछ, जसले आफ्नो स्वास्थ्य खर्चको करिब ७० प्रतिशत शारीरिक परिश्रम र व्यायामको सहयोगले जित्न सकिने रोगहरूमा खर्च गर्नेछन्। १९४ देशबाट प्राप्त तथ्यांकमा आधारित यो प्रतिवेदनअनुसार यस क्षेत्रमा प्रगतिको गति सुस्त रहेको छ।
सरकारको दायित्व
खासमा मानिसले दिनभरी कडा व्यायाम गर्नुपर्छ भन्ने होइन। हलुका व्यायाम, साइकल चलाउनु र हिँड्नु पनि मानसिक र शारीरिक स्वास्थ्यका लागि फाइदाजनक रहेको अनुसन्धानले देखाएको छ। महामारीको समयमा पनि मानिसहरूले नियमित शारीरिक क्रियाकलापको महत्त्व बुझेका थिए। तर, त्यसबेला पनि जनतामा सुविधाको पहुँचमा असमानता देखिएको थियो।
जबसम्म मानिसमा आफूलाई परिवर्तन गर्ने इच्छा हुँदैन तबसम्म परिस्थिति परिवर्तन हुँदैन। तर यसका लागि सरकार र यसका नीतिहरू पनि धेरै महत्त्वपूर्ण छन् भन्ने कुरालाई नकार्न सकिँदैन। यसका अतिरिक्त ४० प्रतिशतभन्दा कम देशहरूले प्राथमिक स्वास्थ्य सेवामा शारीरिक गतिविधिको व्यवस्थापनका लागि राष्ट्रिय स्तरको प्रोटोकल स्वीकार गरेका छन्।
सरकारले पूर्वाधारमा व्यवस्था नगरेसम्म मानिसले स्वस्थ जीवनशैली अपनाउन सक्दैनन्। उदाहरणका लागि, यदि कुनै सहरको आफ्नो क्षेत्रमा कुनै पार्क छैन भने मानिसहरूले सडकमा सवारी साधनहरू बीच व्यायाम गर्ने कुरा आउँदैन। त्यसैगरी सुरक्षित हिड्ने र साइकल लेनको व्यवस्था गर्ने दायित्व सरकारको हो।
प्रतिवेदनका अनुसार ५० प्रतिशतभन्दा कम देशमा राष्ट्रिय स्तरमा शारीरिक क्रियाकलापसम्बन्धी नीति रहेको छ भने अचम्मको कुरा यीमध्ये ४० प्रतिशतभन्दा कम देशले यसलाई लागू गरेका छन्। यसैगरी, विश्वका ३० प्रतिशत देशहरूमा मात्र सबै उमेर समूहका लागि राष्ट्रिय शारीरिक गतिविधि दिशानिर्देश छ।
तथ्याङ्कका अनुसार प्रायः सबै देशले वयस्कहरूले गर्ने व्यायामको अनुगमन गर्ने प्रणाली रहेको बताए पनि ७५ प्रतिशतले मात्रै किशोरकिशोरीको गतिविधिलाई अनुगमन गर्न सहमत भएका छन्। जबकि पाँच वर्ष मुनिका बालबालिकाको हकमा यो संख्या ३० प्रतिशतभन्दा कम छ।
अर्कोतर्फ यातायातसम्बन्धी नीतिलाई हेर्दा विश्वका ४० प्रतिशत देशले मात्रै सडक निर्माण गर्दा हिड्ने र साइकल चलाउने आवश्यक मापदण्डलाई ध्यानमा राखेका छन्।
यस्तो अवस्थामा, डब्ल्यूएचओले व्यायामको फाइदालाई बढावा दिन सरकारहरूलाई तत्काल कदम चाल्न आह्वान गरेको छ। प्रतिवेदनमा भनिएको छ कि देशहरूले मुटुको दर बढ्ने र रोगहरू रोक्न मद्दत गर्ने नीतिहरूको विकास र कार्यान्वयनलाई तीव्रता दिन आवश्यक छ। यसले पहिले नै अर्थतन्त्रको बोझमा परेका सरकारहरूलाई स्वास्थ्य सेवामा बढ्दो बोझ कम गर्न मद्दत गर्नेछ।
- श्रोत : आइएनएस-स्वतन्त्र समाचार
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच