नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

फाईल फाेटाे

Read Time = 4 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने चुनौति रहेको बताउनुभएको हो । उहाँले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । टेलिभिजनलाई आधारभुत जनताले महशुस गर्नेगरी योजनाहरु तय गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलतायुक्त नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्रका र देश बाहिरका समेत अनगिन्ति टेलिभिजन च्यानलहरुकाबिच आफुलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लैजानुपर्ने चुनौति रहेको छ । यसको लागि उपलब्ध साधन, स्रोत र जनशक्तिको अधिकतम सदुपयोग र परिचालन गर्ने र व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ । आगामी दिनका लागि टेलिभिजनले गहिरो अध्ययन गरी आधारभुत जनताले महशुस गर्ने खालका योजनाहरु तय गरोस् । र त्यसलाई लक्ष्य अनुरुप सम्पन्न गर्नको निम्ति आफ्ना सबै साधन, स्रोतको सही ढंगले सदुपयोग गरोस् । र गर्नेछ भन्ने कुराको विश्वास पनि लिएको छु ।’

सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसाथ गर्दै प्रशारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रविधि र पहुँचमा पनि बिस्तार र सुधार गर्दै लानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हीतको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रशारणका विषयवस्तु, प्रश्तुति, प्रविधि र पहुँचमा थप बिस्तार र सुधार गर्दै जाओस् ।’

मन्त्री शर्माले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताउनु भयो । उहाँले टेलिभिजनका कर्मचारीहरुले आफ्नो कर्मथलोप्रति सधैँ इमान्दार र प्रतिवद्ध भइ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?